घलेम्दीखोलाको आन्तरिक परिक्षण सफल (भिडियो)

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ । घलेम्दी खोलामा आएको बाढीले इन्टेक र टनेलमा क्षती पुगेपछि रोकिएको काम मर्मत सकिएलगत्तै उपकरणको सफल परिक्षण गरिएको आयोजनाका बिमल रिजालले बताए । संरचना तथा उपकरणहरुको विद्युत उत्पादन नगरी परिक्षण गरिएको थियो ।

आन्तरिक परीक्षण सफल भएपछि विद्युत प्राधिकरणको टोलीको अनुगमन तथा परिक्षण गर्ने छ । परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारिन्छ ।त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चले÷नचलेको हेरिएको आयोजनाका प्रबन्धक निर्देशक प्रमोद श्रेष्ठले बताए ।

एकमहिना अगाडी नै परिक्षण गर्ने योजना रहेपनि बाढीले इन्टेकको बाँध हुदै टनेलभित्र प्रवेश गरेको बाढीले भुई ढलान र सर्टकिटमा क्षती पुर्याएको थियो । आयोजनाको बाँधदेखि पावरहाउससम्मको सम्पूर्ण संरचना ब्यवसायीक उत्पादनका लागि तयारी अवस्थामा रहेको जनाइएको छ ।

एकमहिना परिक्षण रुपमै विद्युत उत्पादनसँगै नारच्याङकै घरापमा रहेको तातोपानी साना जलविद्युत हुदै केन्द्रिय प्रशारण लाइनमा जडान गरिने छ । दानामा निर्माणधिन अवस्थामा रहेको सवस्टेशनको काम सकिएपछि आयोजनाको क्षमता अनुसारको विद्युत सजिलै केन्द्रिय प्रशारण लाइनमा जडान गरिने छ । अहिले घरापको क्षमता कम भएकाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न नसकिने आयोजनाका अध्यक्ष अध्यक्ष किशोर सुबेदीले बताए ।

वार्षिक साढे १३ करोड रुपियाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने विद्युत प्राधिकरणसँग सम्झौता भएको छ । विसं २०७१ बाट निर्माण थालिएको आयोजना भुकम्पले टनेलमा असर गरेपछि केही परिवर्तन गर्नुपर्ने, नाकाबन्दीका कारण इन्धनको असुविधा, ढुवानीमा खच्चड र भरियाको प्रयोग, क्षमता बढाउने लगाएत सरकारी निकायको ढिलासुस्तीले समस्या भएको थियो ।