अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य घटेपनि नेपालमा घटेन

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चपदार्थ ‘ब्लेड’को मूल्य घटेपनि नेपाली बजारमा घटाइएको छैन । उपभोक्ताले उच्च मूल्य तिरेर रड तथा स्टील खरिद गर्नुपरेको गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय बजारभन्दा नेपालमा प्रतिकेजी १५ रुपैयाँ बढी पर्न आउँछ ।

अहिले भारतमा स्टिल तथा रड फलामको कच्चापदार्थ ब्लेडको प्रतिटन ३ सय डलर रहेको छ । जुन नेपाली बजार सम्म आइपुग्दा प्रतिकेजी ४३ रुपैयाँ ७० पैसा पर्छ । जसमा १३ प्रतिशत मूल्य अभिवृद्धिकर, ढुवानी खर्च १५ रुपैयाँ जोड्दा प्रतिकेजी प्राइम ब्लेडकको ६३ रुपैयाँ ७० पैसा पर्छ । व्यवसायीका अनुसार उद्योगमा रड तयार भई बजार सम्मआइपुग्दा प्रतिकेजी ७० रुपैयाँ पर्न जान्छ । तर, अहिले बजारमा १०÷एम एम रडकै प्रतिकेजी ८५ रुपैयाँ पर्ने गरेको उपभोक्ता बताउँछन् ।

उपभोक्ताले १५ रुपैयाँ बढी तिर्नु परेको छ । त्यसबाहेक बजारमा पसलै पिच्छे मुल्य फरक–फरक छ । आयातकर्ता र नेपालमै रड उत्पादन गर्ने उद्योगीहरुको मिलोमतोले बजारमा बढी मूल्य तिर्नुपरेको साना व्यवसायीको गुनासो छ ।फलाम तथा स्टिल उत्पादन गर्ने कम्पनीले उत्पादनमूल्य र बजार मूल्यको विवरण वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पठाउनु पर्छ । विभागले मूल्य सूची हेरी बैज्ञानिक मूल्य कायम भएनभएको अनुसन्धान गर्छ ।

निर्माण व्यवसायीहरु भने बजारमा एउटै उत्पादनको मूल्य पसलै पिच्छे फरक हुँदा समस्या रहेको बताउँछन् । त्यसैले फलामको बैज्ञानिक मूल्य कायम गर्नुपर्ने माग उनीहरुको छ ।भारतबाट गुणस्तर चिन्ह प्राप्त आइएसआई प्रमाणित छड पनि नेपाल आउने गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा कच्चा पदार्थ तथा फलामबाट निर्मित सामाग्रीको आयात १ खर्ब ६५ अर्ब रुपैयाँको भएको छ ।