सरस्वती मावि तातोपानीमा नवनिर्मित विद्यालय भवनको उद्घाटन (फोटोफिचर)

बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा नवनिर्मित भवनको मङ्गलबार उद्घाटन भएको छ। जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीको अनुदान र स्थानीय जनश्रमदानबाट निर्मित भूकम्प प्रतिरोधात्मक ४ कोठे विद्यालय भवनको उद्घाटन गरिएको हो ।

कुल ६९ लाख ८९ हजार आठसय दुई रुपैयाँ लागत रहेको भवनको जिल्ला आयोजना कार्यान्वयन इकाइबाट कन्टेन्टजेन्सीबाहेक ३५ लाख ४४ हजार दुईसय र विद्यालय तथा स्थानीय जनश्रमदान ३४ लाख ४५ हजार छ सय दुई रुपैयाँ लगानी रहेको विद्यालयले जनाएको छ । प्रतितला ३ मिटर उचाई रहेको विद्यालय भवनको लम्बाई १४ मिटर ७० सेन्टीमिटर र चौडाई ¥यामबाहेक ९ मिटर ३५ सेन्टिमिटर रहेको छ । भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री भवनको प्रति कोठामा ५ वटा झ्याल तथा २ ओटाका दरले ढोका राखिएको जिल्ला आयोजना कार्यान्वयन इकाइका सव–इन्जिनियर रोहित बानियाँले जानकारी दिए ।

भ¥याङमा समेत एकवटा झ्याल रहेको भवनभित्रका सबै कोठा ४० देखि ५० जनासम्म विद्यार्थी अटाउन सक्ने क्षमताका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ म्याग्दीबाट ३ कोठे ट्रसको भवन परेको सरस्वती माविलाई विद्यालय र स्थानीयले आन्तरिक स्रोत तथा जनश्रमदानबाट एउटा कोठा थपेर ढलानसहित भवन बनाएका हुन् । नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले विद्यालयमा भौतिक पूर्वाधार विस्तारसँगै पढाइको गुणस्तर वृद्धि गर्नुपर्ने बताए ।

उनले विद्यालयहरुमा भौतिक संरचना निर्माण र व्यवस्थापनको साथमा विद्यार्थीको अध्ययन, अध्यापनलाई ध्यान दिनुपर्ने बताउँदै गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विश्वका जुनसुकै मुलुक पनि शिक्षाको विकासबाटै अगाडि बढेको हुँदा शैक्षिक क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । शिक्षक दरबन्दी नहुँदा विद्यालयहरुमा समस्या भैरहेको भन्दै उनले सङ्घीय शिक्षा ऐन पारित नहुँदा शैक्षिक क्षेत्रको समस्या समाधान हुन नसकेको बताए । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले सङ्घीय शिक्षा ऐन पारित भएमा शिक्षा क्षेत्रको समस्या हल हुने बताए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख शिवराम गेलालले म्याग्दीमा भूकम्पबाट कुल ९७ ओटा विद्यालयहरु प्रभावित भएकोमा गत आवसम्म २० ओटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए । कार्यक्रमको अवसरमा गएको असारमा सेवानिवृत्त विद्यालयका पूर्व प्रधानाध्यापक नोठबहादुर बानियाँलाई सम्मानसहित विदाई गरिएको थियो । यसैगरी विद्यालयका शिक्षकहरु तथा २०७५ सालको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपाका प्रतिनिधि शेरबहादुुर केसी, नेपाली कांग्रेसका सचिव मिनबहादुर कार्की, विद्यालयका पूर्वप्रअ बानियाँ, वडा अध्यक्ष गोविन्द पौडेल, भवन निर्माण समिति अध्यक्ष विरेन्द्रमान शाक्य र पत्रकार प्रताप बानियाँले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुदत्त उपाध्यायको अध्यक्षता, प्रअ सुरत बानियाँको स्वागत र शिक्षक रामप्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थी र अभिभावकले नृत्य एवं हाँस्यव्यङ्ग्य प्रस्तुत गरेका थिए । २०२८ सालमा स्थापना गरिएको विद्यालयमा अहिले २ सय ६६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । त्यस्तै प्रावि तहसम्म मात्रै ५ जनाको शिक्षक दरबन्दी रहेको उक्त विद्यालयमा १० जना निजी स्रोतबाट शिक्षकको व्यवस्थापन गरिएको छ ।