बेनी नगरपालिका–३ भकिम्ली मुसुङकी सुस्मिता विकले माध्यामिक शिक्षा परीक्षा ‐एसइई) को परिक्षामा गाउँबाटै उत्कृष्ट नतिजा ल्याईन् । पारिवारिक र आर्थिक अवस्था कमजोर कमजोर भएपनि जयन्ती माविबाट २.९ जीपीए ल्याएर एसइई पास गरेकी विक जीवनमा कहिल्यै दोस्रो भएकी छैनन् ।

गाउँकै विपन्न परिवारमा जन्मिएकी उनले विहान–बेलुकी घाँसदाउरा, मेलापातमा गएर पनि विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेकी थिईन् । मुसुङडोले आधारभुत विद्यालयमा कक्षा ८ मा ८६ प्रतिशत ल्याएर सम्मान समेत भएकी विक सिंगो भकिम्लीकी मेधावी विद्यार्थी हुन् । विद्यालयमा सधैं प्रथम स्थान हासिल गरेकी विकको उच्च शिक्षाको चाहनालाई आर्थिक अभावले रोकेको छ ।

हेपाटाइटिस ‘बि’ को संक्रमणबाट ग्रसित आमा तिलकुमारी र एकमहिना अगाडी जन्मिएकी बहिनीको उपचारमा आर्थिक अभाव भएपछि सहयोग जुटाउने अभियानमा जुटेकी सुस्मिताले आर्थिक स्थिति कमजोर भएपनि कक्षा ११ मा विज्ञान विषय पढ्न छिमेकीबाट १० हजार ऋण लिएर सदरमुकाम बेनी आएकी छन्। आमाको उपचारमै ४ लाख ऋण लागेपछि दुई महिना अगाडी रोजगारको खोजीमा मलेसिया गएका सुस्मिताका बुबा हर्कबहादुर अलपत्र अवस्थामा छन् ।

रोजगारीको अभावमा कम्पनीमै अलपत्र परेका हर्कबहादुर तत्काल घर फर्किने अवस्था छैन् ।१.८ केजी तौलकी बहिनीलाई आइसियूमै राखेर उपचार गरेर घर फर्किएकी उनलाई मलेसियाबाट बुबा हर्कबहादुरले विज्ञान विषय पढाउन नसकिने बताएपछि १५ दिन घरमै घाँसदाउरा गरेर बसेको बताईन् । सहयोग जुटाएरै भएपनि आफ्नो लक्ष्य पुरा गर्ने आत्मविश्वास बोकेर बेनी आएको बताईन् ।‘विज्ञान विषय पढ्नैका लागि मैले धेरै रात सुतेको छैन्,‘घरमा पढ्ने वातावरण नहुदाँ पनि कक्षामा कहिल्यै दोस्रो भईन्’ उनले भनिन् ।

उनले आमाको उपचारमै खर्च लाग्ने भएकाले पढाइका लागि खर्चको अभाव भएको बताईन् । करिब ५ बर्षयता जन्मदिने आमाको रोगलाई नजिकबाट हेरेकी सुस्मिताले बिज्ञान विषयबाट चिकित्सा क्षेत्रमा प्रवेश गर्ने सपना रहेको बताईन् । ‘आमाले आफ्नो उपचारका लागि जुटाएको केही पैसा मलाई दिनुभएको छ,‘मृत्युसँग लड्दै गरेकी आमाको सपना पनि विज्ञान विषयमै राम्रो गर्नेछ’ उनले भनिन् ।

‘समाजसेवा र स्वास्थ्य क्षेत्रमा काम गर्ने योजना छ,‘एकछाक खाएर भएपनि विज्ञान नै पढ्न चाहन्छु’ सुस्मिताले भनिन् ।कक्षा ७ देखि १० सम्म खाजाखर्च कटाएर विज्ञान पढ्न बचत गरेको पैसाले पोशाक खरिद गरेको बताईन् ।‘सबै विषयबाट राम्रो गर्न सकिने भएपनि मैले मेहनत गरेर विज्ञान पढ्ने पहिल्यैको सपना हो’ सुस्मिताले भनिन् । भर्ना, मासिक, ल्याब, पोशाक, पुस्तक र स्टेशनरी खर्चका साथै खाना र बस्ने कोठाभाडाका लागि खर्च जुटाइदिन अपिल गरेकी छन् ।

यता विद्यालयका प्रधानध्यापक रामबहादुर पुनले विद्यालयकै उत्कृष्ट विद्यार्थी भएकाले विज्ञान विषयमा राम्रो गर्न सक्ने बताए ।‘विद्यालय टप हुन्,‘उचित वातावरण भए पढाईमा राम्रो गर्न सक्छिन्’ पुनले भने । उनले पढाईमा लगनशील र मेहनती भएकाले विज्ञान विषयका लागि आवश्यक सहयोग जुटाउनुपर्ने बताए । सुस्मिताकी आमा र जन्मिएकी बहिनी हेपाटाइटिस ‘बि’ को संक्रमणबाट ग्रसित भएपछि गाउँमा सहयोग जुटाएर आइतबार नै थप उपचारका लागि चितवनको भरतपुर गएका छन्।