‘नखेल्नु है जुवा र तास, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चर्चित थियो । जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेका दृष्टान्त धेरै छन् ।सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गर्नुहुन्छ ४० वर्षीया लक्ष्मी । उहाँ दिनको दुई हजारदेखि दुई हजार ५०० आम्दानी गर्नुहुन्छ तर यसरी दुःख गरी कमाएको पैसाले उहाँको श्रीमान्लाई जुवा खेल्नै पुग्दैन ।

उहाँका श्रीमान् रामकृष्ण वानु जुवा खेल्दै गरेको अवस्थामा पटक–पटक पक्राउ परिसकेका छन् तर पनि जुवाको लत हटेको छैन । श्रीमान्को जुवाको लतबाट आजित लक्ष्मी भन्नुहुन्छ, “मैले एक छाक मीठो खान र एक सरो राम्रो लुगा लगाउन पाएको छैन । उहाँ जुवामा पैसा सक्नुहुन्छ ।”त्यस्तै पीडा छ अर्की महिला रामकलाको पनि । पकनाजोलमा किराना पसल सञ्चालन गरी दुई सन्तानलाई हुर्काउँदै आउनुभएको छ उहाँले । काठमाडाँैंमा घर भएर पनि भाडामा बस्नुको पीडा सुनाउँदै रामकलाले थप्नुभयो, “जुवाडे श्रीमान् राधेश्यामका कारण घर न टहराको बास भएको छ ।”

“महिना नमर्दै घरको भाडा उठाएर जुवा अखडामा धाउँदा–धाउँदा श्रीमान् राधेश्यामले घरसमेत सहकारीको लिलामीमा पारिसकेको रहेछ”, उहाँले भन्नुभयो, “झगडा गरौँ आफ्नै बदनाम, पुलिसलाई भनौँ सात दिनमै छुटेर आउँछ ।” जुवाडे श्रीमान्बाट प्रताडित लक्ष्मी र रामकला केही उदाहरण मात्र हुन् । यस्तो पीडा भोग्नेहरूको समस्या काठमाडौँ उपत्यकामा कहालीलाग्दो छ । विशेषगरी घर–जग्गा दलाल, अवकाशप्राप्त कर्मचारी, वैदेशिक रोजगार व्यवसायी र ढुकुटी खेल्नेहरू केहीमा जुवाको लत बढी देखिएको छ ।

श्रीमतीको कमाइ खोसेर जुवामा उडाउने जुवाडेहरू बढी नै छन् । महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवाली घरकोठा, फ्ल्याट, होटल, क्याफे र रिसोर्टहरूमा मिनी जुवा घर सञ्चालन हुन थालेपछि जुवाडेको सङ्ख्या पनि बढ्दै गएको बताउनुहुन्छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

विज्ञापन