१३ बर्ष विदेशमा विताएकोमा पछुतो मान्दै गाउँमै बाख्रापालन

श्रीमति हरिमायाँसँगै बेनी नगरपालिका–३ भकिम्लीको मुसुङको खोरियामा बाख्रा चराइरहेका पूर्ण गोतामेलाई विदेशमा १३ बर्ष विताएकोमा पछुतो लागेको छ। ३ बर्ष कतार र करिव १० बर्ष मलेसियामा विताएका गोतामेले केही राहत भएपनि विदेशी भूमिका बागाएको पसिनालाई सम्झिदै बाख्रापालन गरेका छन् ।

२० बर्षको उमेरमा गाउँघरमा काम गर्नुभन्दा विदेश गएपछि मनग्य कमाइ हुन्छ भन्ने सपना बोकेर विदेशिएका गोतामेले केही आर्थिक जोहो गरेपनि विदेशी कमाई नाममात्रै भएको बताए ।‘मलेसिया र कतारमा पसिना बगाएर फर्किएपछि गाउँमै बाख्रापालन सुरू गरे,‘त्यो १३ बर्षको कमाईभन्दा बाख्रापालनबाट सन्तुष्ट छु’ गोतामेले बेनीअनलाइनलाई भने ।

विदेशलाई विठ मारेर फर्किएका गोतामेले घरआगनमै बाख्रापालन गरी परिवारसँगै सुखदुख साटासाट गरेर ब्यवसायीक बाख्रापालन गर्ने बताए । अहिले खरी जातका ६० बाख्रा रहेपनि एकदुईबर्षमा २ सयवटा बाख्रा बनाउने योजना रहेको बताउँछन् । श्रीमति हरिमायाँ गोतामेसँगै आफ्नै खोरियामा भेटिएका गोतामेले बाख्रापालनबाटै विदेशमा भन्दा धेरै कमाउने योजना रहेको बताए । दिनचर्या बिहानदेखि बेलुकासम्म बाख्राको हेरचाहमा बित्न थालेपछि गोतामेले ब्यवसाय सुरु गर्न ढिलो गरेको बताए । ‘परिवारसँगै बसेर कमाएको थोरै भएपनि मिठो हुन्छ,‘यहाँको कमाई रसिलो पनि हुन्छ’ उनले भने ।

उनले उन्नतजातका बाख्रापालनलाई लक्षित गरी ६ लाखको खोर सहित करिव १६ लाख लगानी गरेका छन् । घरसहित बाख्रा फार्म स्थापना गरेको बताए । उनले बाख्रापालनमा आधुनिक प्रविधिको प्रयोग गर्ने योजना समेत रहेको बताए ।

स्थानीय जातका बाख्राको संरक्षण गर्न सकेमा यसबाट मनग्य आम्दानी र फाइदा दुवै लिन सकिने भएकाले स्थानीय जातका बाख्रालाई चरन क्षेत्रमा समेत लैजान मिल्ने भएकाले पनि तत्काललाई स्थानीयलाई प्राथमिकता दिएको बताए । बाख्राको व्यवस्थापन र केही रकम भौतिक व्यवस्थापनमा खर्च भएपनि बजारको समस्या नभएको गोतामेको भनाई छ । गाउँमै बाख्रापालन गरी केही रोजगारी दिने योजना सहित अहिले बाख्रापालनलाई विस्तारमै रहेको उनको भनाई छ ।