म्याग्दीमा १० हेक्टर धान रोप्ने जमिन बाँझै,किसानहरु भटमास र मकै रौप्दै

यसवर्ष धान रोप्ने समयमा पर्याप्त पानी नपरेका कारण हिमाली जिल्ला म्याग्दीमा अझै १० हेक्टर जमिन बाँझै रहेको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको मंगला गाउँपालिका र बेनी नगरपालिकाको १० हेक्टर जमिनमा धान रोपाईँ हुन सकेको छैन । हालसम्म जिल्लाभर कुल ३ हजार ८ सय ८८ हेक्टर क्षेत्रफलको जमिनमा मात्रै धान रोपाईँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

जिल्लाको कुल क्षेत्रफल २ लाख २९ हजार ७ सय ६ हेक्टर रहेकोमा कुल खेतीयोग्य जमिन ३० हजार ८ सय ५६ हेक्टर अर्थात् १३ दशमलव ४३ प्रतिशत मात्रै रहेको छ । त्यसमध्ये १९ हजार ४ सय ८३ हेक्टर वा ८ दशमलव ४ प्रतिशत क्षेत्रफलमा खेती गरिएकोमा ३ हजार ८ सय ९८ हेक्टरको जमिनमा मात्रै धानखेती हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार बाढीपहिरो र भू–क्षयबाट ११ हेक्टर जमिन नोक्सान भएको छ भने १ हजार ६ सय ८१ हेक्टर अर्थात् ८ दशमलव ६ प्रतिशत जमिनमा मात्रै बाह्रै महिना सिञ्चित हुने गरेको छ । यसैगरी ४ हजार ३ सय २५ हेक्टर अर्थात् २२ दशमलव १ प्रतिशत मौसमी सिञ्चित जमिन रहेकोमा ७५ हेक्टर जमिन बाँझो रहेको छ । म्याग्दी जिल्लाको कुल कृषक परिवार सङ्ख्या २२ हजार ४ सय ८० रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसमध्ये ३ हेक्टर क्षेत्रफलको जमिन रियलस्टेटले ढाकेको छ ।

२०६८ सालको जनगणना अनुसार म्याग्दीको कुल १ लाख १३ हजार ६ सय ४१ जनसङ्ख्यामध्ये ८९ हजार ९ सय २० आर्थत् ८२ दशमलव २ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित रहेको छ । गतवर्ष कुल धानखेती हुने जमिन सबैमा खेती गरिएकोमा यसवर्ष शुन्य दशमलव ५ प्रतिशत अर्थात् १० हेक्टर जमिन बाँझै रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए । धौलागिरी र अन्नपूर्ण गाउँपालिकामा समेत छिटै रोपाईँ हुनुपर्ने भए पनि यसवर्ष समयमा पानी नपरेका कारण ढिलो रोपाईँ भएको थियो । समयमै पानी नपर्नु, सिचाईँको असुविधा, मनसुनको भर पर्नुपर्ने बाध्यताले गर्दा रोपाईँ नभएको किसानहरु बताउँछन् । म्याग्दीमा मार्सी, लुम्ले, जेठोबुढो, गौरिया, गुडुरा, दर्माली, भट्टेलगायत जातको धानखेती गर्ने गरिएको छ ।