म्याग्दीमा महिला–बालबालिका हराउँदै, भेटिँदै

हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय महिला तथा बालबालिकाहरु हराउँदै, भेटिँदै गरेका छन् । फोन, इमेल, इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग बढ्दै जान थालेपछि जिल्लामा महिला र बालबालिकाहरु हराउने क्रम बढ्दै जान थालेको हो।
गतवर्ष म्याग्दी जिल्लामा कुल ५९ जना महिला तथा बालबालिकाहरु हराएकोमा जम्मा ५४ जना मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । एक वर्षको अवधिमा महिला ४१, बालिका ११ र बालक ७ जना हराएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी ५९ जना भेटिएकोमा महिला ४० जना, बालिका १० र बालक ४ जना रहेको जनाइएको छ ।

त्यस्तै हालसम्म हराएर फेला नपरेकोमा महिला १, बालक ३ जना र बालिका १ जना रहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । उनका अनुसार ट्याक्सी दुर्घटनामा आमाछोरा, डुबेर बेपत्ता २ बालक र एकजना बालिका खोलामा हाम फालेको हुँदा हालसम्म नभेटिएको हुँदा उनीहरुको अवस्था अज्ञात नै रहेको बताइएको छ ।

यसैबीच चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो महिना साउनमा मात्रै ३ जना महिला सम्पर्कविहिन भएको जानकारी प्रहरी कार्यालयमा पुगेको छ । सम्पर्कविहिन हुनेहरुमा अधिकांश विवाहित महिलाहरु रहेका छन्भने श्रीमान् विदेशमा रहेको हुँदा श्रीमतीहरु हराउने गरेको प्रनाउ मरासिनीले बताए । महिला हराएपछि उनीहरुका परिवार, आफन्तजन र ससुराले प्रहरीमा जानकारी दिने गरेपनि भेटिएपछि भने खासै जानकारी नहुने उनले बताए । सम्पर्कविहिन भएका महिलाहरुको प्रहरीले खोजकार्य गरिरहेको जानकारी दिएको छ ।