मोनाको तेस्रो महाधिवेशनको तयारी तिब्र

म्याग्दी प्रवासी नेपाली संघ ‐मोना) अन्तराष्ट्रियको तेस्रो महाधिवेशनको तयारी तिब्र पारिएको छ । प्रवासी म्याग्देलीको साझा संस्था मोनाको आगामी महिनाको असोज १४–१६ गतेसम्म अन्नपुर्ण गाउँपालिका–६ घोरेपानीमा हुने महाधिवेशनको आवश्यक तयारी सुरु भएको हो ।

विश्वभर रहेका मोनाका राष्ट्रिय कार्यकारी समितिमार्फत प्रतिनिधि सहित आर्थिक सहयोग जुटाउने, घोरेपानीमा ब्यवस्थापन, प्रचारप्रसार सहित अतिथिलाई पत्रचार सहितको काम सुरू भएको मोना अन्तराष्ट्रियका सचिव विक्रम कार्कीले बताए । उनका अनुसार महाधिवेशनका लागि विभिन्न उपसमितिमार्फत तयारी सुरू भएको छ ।मोना आइसीले विभिन्न राष्ट्रिय समितिलाई समेत महाधिवेशनको तयारीमा जुट्न र आवश्यकता अनुसारको सहयोगका लागि अनुरोध गरेको सचिव कार्कीको भनाई छ ।

विश्वकै चर्चित पर्यटकीयस्थलको रुपमा चिनिएको घोरेपानीलाई थप प्रचारप्रसार गर्ने उदेश्यले महाधिवेशनको स्थलको रुपमा गतबर्ष पोर्चुगलको साधारणसभामा छनौट गरिएको मोना अन्तराष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले बताए । ‘विश्वकै आर्कषक गन्तब्यमै कार्यक्रम गर्दछौ,‘स्थानीयको पनि ठूलो सहयोग छ’ थापाले भने। उद्घाटनस्थलमा आवश्यक तयारीका लागि मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुन घोरेपानीमा छन् । उनले उद्घाटन सत्रका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी सुरु भएको बताए । विश्वभर रहेका म्याग्देली आवद्ध संघसस्थामार्फत महाधिवेशनमा सहभागी हुन सक्नेछन् । हालसम्म मोना विस्तार भएका देशहरुबाट प्रतिनिधित्व हुने महाधिवेशनमा म्याग्दीका स्थानीय तह सहित सरकारी निकायलाई समेत समन्वय गरिएको छ ।