बिरामीको सेवामा खटिने प्रहरीलाई अवार्ड

जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘बेस्ट पुलिस अफ् द मन्थ अवार्ड’बाट कृष्ण बहादुर बराललाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा आयोजित एक समारोहमा म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बेनी अस्पतालमा खटिएका बराललाई अस्पतालभित्र विरामीको सेवामा २४ घण्टा खटिएर, दुर्घटनामा घाईते भएका तथा मृत्यु भएकाको पोष्टमार्टम सहित बर्दीको जिम्मेबारी पुरा गरेको भन्दै कदरपत्रले सम्मान गर्नुभएको थियो

सम्मानपछि बोल्दै प्रनाउ मरासिनीले राम्रो काम गर्ने व्यक्ति ओझेलमा नपर्ने भन्दै पहिलोपटक म्याग्दीमा अवार्डको घोषणा गरी पुरस्कृत गरिएको बताउनुभयो ।हरेक महिना एकजना उत्कृष्ट प्रहरी कर्मचारीलाई छनोट गरेर अवार्डमार्फत सम्मान गरिने बताउनुभयो । ५ बर्षदेखि अस्पतालमा कार्यरत बरालले विरामीको उपचारदेखि रिफरसम्म सहयोगी भूमिका खेल्नुभएको थियो ।

साङ्गठनिक नीति तथा प्राथमिकतालाई अनुसरण गरी जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न र कार्यसम्पादनमा सफलता प्राप्त गर्ने उद्देश्यसहित गत बैशाख महिनादेखि नयाँ कार्यक्रम पुसिल अफ द मन्थ सुरु गरिएको थियो । पुलिस अफ् द मन्थ कार्यक्रम छनोटका लागि प्रहरी निरीक्षकको अध्यक्षतामा ३ सदस्यीय छनोट समिति गठन गरिएको छ ।