गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडक भासिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाखण्डमा ढुवाडी खोलाको छेउमा भासिएपछि सडक अवरुद्ध भएको छ । कालिगण्डकी नदीको कटान र पहिरोले ठाउँठाउँमा अवरुद्ध भएपछि धरापमा रहेको सडकखण्डको करिव ७ मिटरको हाराहारीमा सडक भासिएको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

‘सडकमा अझै जोखिम छ,‘हिलाम्मे सडकले समस्या भइरहेको छ’ शेरचनले भने । दानाकै खाम भित्तामा पनि अवरुद्ध भएको छ । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथीबाट ढुंगा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ । भदौ र असोज महिनामा नेपाली र भारतीय हिन्दुधर्मालम्बीहरु मुक्तिनाथ दर्शनका लागि जाने गर्दछन् भने मुस्ताङमा उत्पादन भएको स्याउको ढुवानीमा समेत समस्या हुने गरेको छ ।

विभिन्न ठाउँमा नदी कटान र पहिरोले क्षती पुगेपछि स्थानीयबासी, पर्यटकले ज्यानै जोखिममा पारेर यात्रा गर्नुपरेको छ । भारी बर्षापछिको बाढीपहिरोले म्याग्दी र मुस्ताङमा थुप्रै स्थानमा चर्किएको र भासिने खतरा रहेको स्थानीयको भनाई छ । रघुगंगा गाउँपालिकाको बैसरीदेखि सडकस्तरउन्नतीको काम भइरहेकाले डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएको पहाडबाट लगातार ढुंगा खस्ने गरेका छन् । सडक भासिएपछि कल्भर्ट, नाली र सडक सबै क्षतविक्षत बनेको छ।