तीन वर्षअघि निर्माण सुरु भएको उत्तर–दक्षिण कालीगण्डकी करिडोरअन्तर्गत छिमेकी चीनको सीमा जोड्ने बेनी–कोरलाखण्ड (१८६ किमी)काे बेनी–जोमसोमको सडक निर्माण र विस्तारको काम सुस्त देखिएको छ । ७६ किलोमिटरको उक्त खण्डको अहिले ४८ प्रतिशत मात्रै भौतिक प्रगति छ । ४ ओटा ठेकेदार कम्पनीले सडक निर्माणको काम गरिरहेका छन् ।

अहिलेसम्म लेतेदेखि माथिल्लो जोमसोम २२ किमी सडक खण्ड कालोपत्रे गर्ने चरणमा छ । बाँकी कालोपत्रेका लागि बोलपत्र आह्वान (टेन्डर) गर्न बाँकी छ । केही पुलको टेन्डर हुन सकेको छैन् । तातोपानी कुन्ड र रघुगङ्गा क्षेत्रमा जग्गा प्राप्ति हुन नसक्दा अपेक्षित रुपमा काम हुन सकेको छैन् । त्यस्तै, आयोजनाको दोस्रो खण्डअन्तर्गत जोमसोम–कोरला खण्डको सडक निर्माणका काम धमाधम भइरहेको छ । कुल ११० किमी पर्ने सडकको हालसम्म ८२ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ ।

जोमसोम–कोरला खण्डको अधिकांश सडक निर्माण र विस्तारको काम अन्तिम चरणमा रहेको देखिन्छ । चालू आर्थिक वर्षभित्रै सो खण्डको काम सकिने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–कोरला सडक खण्डका आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए ।

जोमसोमदेखि कोरला सडक खण्डका लागि कालोपत्रे नगरिने भएको छ । सोहीअनुसार अहिले ठेक्का भइ काम अघि बढेको अधिकारीले बताए । कालोपत्रे गर्नु नपर्दा यसैवर्ष उक्त सडक खण्ड सम्पन्न हुने उनले बताए । सो खण्डमा अहिले ७ ओटा ठेकेदार कम्पनीले काम गरिरहेका छन् । लामो दूरीको सडक भएकाले कालोपत्रे गर्न थप बजेट आवश्यक पर्ने भएपछि तत्काल कालोपत्रे गर्ने योजना नरहेको अधिकारीको तर्क छ । उक्त सडक खण्ड कालोपत्रे गर्न झन्डै साढे ३ अर्ब रुपैयाँ थप लाग्छ ।

उक्त खण्डमा हाल ५६ किमी सडक कालोपत्रे भइसकेको र बाँकी सडक विस्तार र कालोपत्रेको चरणमा रहेको अधिकारीले बताए । ‘बेनी–जोमसोम खण्डको काम केही सुस्त भइरहेको छ । त्यहाँ जग्गा, वनलगायत समस्या देखिएका छन्’ उनले भने, ‘तर, जोमसोम–कोरलाको काम युद्धस्तरमा भइरहेको छ । यसवर्षमै सम्पन्न भइसक्छ ।’

विभिन्न क्षेत्रमा ८ ओटा पक्की पुल निर्माणका लागि ठेक्का भइसकेका छन् । बेगरखोला, थापाखोला, बोक्सेखोला, समरखोला, झौखोला, कालीगण्डकी पुल लगायत केही पक्की पुल आगामी एक वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाको दाबी छ । दुवै खण्ड तीन वर्षअघि नेपाली सेनाले जिम्मा लिएर अघि बढाइरहेको छ । साढे ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा हालसम्म साढे ३ करोड खर्च भइसकेको अधिकारीले बताए । सडक ११ मिटरमा विस्तार हुनेछ । हरिप्रसाद शर्मा