म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुगा सडक दैनिक साढे ८ घण्टा बन्द गरिने भएको छ । बागलुङको बांगेचौर र पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुंगे पुल निर्माणका क्रममा सडकखण्ड बन्द हुने तालिका सार्वजनिक भएको हो ।  कालीगण्डकी नदीमाथि निर्माण हुने पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग निर्माण गर्नुपर्ने हुँदा सम्भावित दुर्घटनाप्रति सजगताका लागि बेनी–पर्वत खण्डको सडक बन्द गर्ने निर्णय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताए ।

‘बैकल्पिक बाटो प्रयोगका लागि अनुरोध गर्दछौ,‘सरोकारवाला निकायको उपस्थितिमै निर्णय भएको छ’ प्रजिअ ढकालले भने । उनका अनुसार भाद्र ५ गते बिहीबारदेखि १३ गतेसम्म बिहान ७ देखि ९ बजे र त्यसपछि बिहान १० देखि अपरान्ह साढे ४ बजेसम्म पर्वतको कुश्मा नगरपालिका १ मालढुंगादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द गरिने छ ।

सडक अवरुद्ध भएको अवस्थामा म्याग्दीको सदरमुकाम बेनी हुदै हाँडेभिर–रत्नेचौर–बागलुङ सडक प्रयोग गरी पर्वतको जलजला गाउँपालिका, म्याग्दी र मुस्ताङबाट आवतजावत गर्ने सकिन्छ । बेनी–रत्नेचौर सडकको केही खण्ड कालोपत्रेको तयारी गरिएकाले पनि आवतजावतमा सहज छ । सडक व्यस्त हुने समयलाई ध्यानमा राखेर समय तालिका तय गरिएको जनाइएको छ ।

हिमशिखर कन्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ। यो झोलुंगे पुल हाल सम्मकै सबैभन्दा लामो ५ सय ६७ मिटर र १ सय ३८ मिटर उचाइको हुनेछ। जिल्ला प्रशासन कार्यालय म्याग्दी, बागलुङ र पर्वतका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योग बाणिज्य सघं, पत्रकार महासंघका अध्यक्षलगायतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।