नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगा गाउँपालिका कमिटिका अध्यक्ष दिपक बिखर्चीले सडक मर्मतको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ । रघुगंगा हाइड्रोपावर र कालीगण्डकी प्रशारण लाइन आयोजनाले पिप्ले, रानीपौवा र रिसिन चौतारी जोड्ने सडकमा टिप्पर चलाउँदा जिर्ण भएकाले स्थानीयबासीलाई आवत जावत गर्न सास्ती भएपछि प्रशासन मार्फत सरोकारवालाको ध्यानाकर्षण गराएको अध्यक्ष कार्कीले बताउनुभयो ।

आयोजना र गाउँपालिकालाई समस्याको बारेमा जानकारी गराउँदा वास्ता नगरेको गुनासो गर्दै कार्कीले प्रशासनमा निवेदन दिनुपरेको बताउनुभयो । साँघुरो र कच्चि सडकमा टिप्पर चलाउँदा हिलो भएर गाडी फस्ने र पैदलयात्रुलाई समस्या भएको छ ।‘लाखौ खर्चेर बनाएको सडक ध्वस्त भएको छ,’ कार्कीले भन्नुभयो ‘सडक मर्मत गरेर क्षमता अनुसारका सवारी साधन चलाउनुपर्छ ।’ अध्यक्ष कार्कीले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई निवेदन बुझाउनुभएको थियो ।