अज्ञात समुहले नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन तोडफोड गरेको छ । महासंघको निर्माणाधिन सभाहलको युपिविसी भत्काइएको छ भने पानीको मोटर, बिजुलीको मिटर बक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्रा टुक्रा पारिएको छ । पछिल्लो तीन साताको शनिबारका दिन तार एकै साथ काटिदिने र भवनमा तोडफोड गर्ने कार्य निरन्तर भइरहेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए । यस बारेमा शुरुवातमै जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएर ध्यानाकर्षण गराइएको उनले बताए ।

‘अहिलेको तोडफोड क्षतिका हिसावले ठुलो होइन, तर पत्रकारहरुको साझा संस्था माथिको लगातारको घटनाले सांकेतिक आक्रमण हो की भन्ने हिसावले हामीले संवेदनशिल हिसावले यसलाई लिएका छौ,’ अध्यक्ष शिरीषले भने ‘प्रहरी कार्यालयकै सम्मुखमा भएको यस किसिमको घटनाले प्रहरी स्वयंम्लाई पनि प्रश्न उठेको छ । तोडफोडमा संलग्नको खोजी र अबका दिनमा प्रहरी निगरानी बढाउने विषयमा गम्भिरता देखिन जरुरी छ ।

महासंघले भवन आसपासमा काँडेतारले तारबार गरेको छ ।’जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज भट्टले महासंघ भवनमा रातिको समयमा भएको तोडफोडका विषयमा मौखिक जानकारी आएको र यस बिषयमा आवश्यक अनुसन्धान जारी राखिएको बताए । यस्तो किसिमको घटना हुन नदिन बजारमा सिसी क्यामरा जडानका लागि आग्रह गरिएको र घटना दोहोरिन नदिनका लागि आवश्यक निगरानी बढाउने प्रहरी उपरिक्षक भट्टले बताए ।