सेवासुविधालाई आक्रामक रुपमा विस्तार गरिरहेको एनआईसी एसिया बैङ्कले म्याग्दीका दुई ठूला होटलबीच बैंकका सम्पूर्ण ग्राहकबर्ग तथा कर्मचारीलाई होटलको सेवासुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा शाखा र म्याग्दीको बेनी नगरपालिका–७ पुस्तकाल चोकमा काउन्टर विस्तार गरी सेवा प्रदान गरिरहेको बैकले शुक्रबार होटल डल्फिनले बैंकका सेवाग्राहीलाई विभिन्न सेवा सुविधाहरूमा १० र होटल यतिले १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट पर्वत बेनी शाखाका प्रबन्धक गणेश पौडेल, होटल डल्फिनबाट सानुकुमारी श्रेष्ठ, होटल यतीबाट विमला गौचनले हस्ताक्षर गरेको पर्वतबेनी शाखाका सर्भिज म्यानेजर सन्तोष ढकालले जानकारी दिनुभयो । दुवै होटल म्याग्दीका ठूला र पुराना होटल हुन् ।

यो सुविधाले एनआईसी एसियाका देशभरका सेवाग्राही लाभान्वित हुने जनाइएको छ । होटलको मेयूमा तोकिएको मुल्यमा दुवै होटलले सम्झौता अनुसारको छुट दिइने बैंकका शाखा प्रबन्धक पौडेलले बताउनुभयो । एनआइसीले म्याग्दीको सदरमुकाम बेनीमा काउन्टरसँगै निकट भविस्यमा शाखा विस्तारको तयारी गरेको छ । नेपालमा ठुलो बैंकिङ सञ्जाल भएको बैंकमार्फत देशैभरबाट आउने सेवाग्राहीले कारोबार बढ्ने अपेक्षा होटल सञ्चालकको छ । बैकले दुवै होटलका बारेमा आफ्ना शाखामार्फत समेत सेवाग्राहीलाई जानकारी गराउने जनाइएको छ ।