कदम म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरकी मृगौला पिडित निशा सुवेदीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। कदमका अध्यक्ष निलकण्ठ रेग्मीको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले स्वास्थ्य राहत कोषबाट सुवेदीको उपचारका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रसुति सेवाका क्रममा जटिल अवस्था उत्पन्न भएका र जटिल रोगबाट थलिएका विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले कदमले तीन वर्षअघि स्थापना गरेको अक्षयकोषमा करिब एक लाख रुपैयाँ रहेको निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेलले बताउनुभयो । साउन २ गते सुत्केरी भएलगत्तै दुवै मृगौलामा खरावी देखिएपछि थलिएकी २६ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण महँगो खर्च लाग्ने मृगौला रोग उपचारमा समस्या भएको छ ।

विज्ञापन