बेनी नगरपालिका–५ पुलाचौरकी निशा सुबेदीको उपचारमा भुपु सैनिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । प्रसुति सेवाका क्रममा समस्या देखिएपछि थप उपचारका लागि पोखरामा रहेकी सुबेदीलाई सहकारीले १५ हजार सहयोग गरेको अध्यक्ष बालकृष्ण सुबेदीले बताए । ‘उहाँको उपचारमा केही सहज हुने अपेक्षा गरेका छौ,‘थप सहयोगका लागि अनुरोध गर्दछु’अध्यक्ष सुबेदीले भने ।

सहकारीमा बजार प्रतिनिधि रहेकी सुबेदीलाई सहकारीका सञ्चालक र कर्मचारीले पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेका छन् । पिसावमा समस्या देखिएपछि उपचारको क्रममा मृगौलाको डायलासिस गनुपर्ने भएपनि आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको आफन्तको भनाई छ । गत साउन २ गते सुत्केरी भएलगत्तै सिकिस्त भएकी २६ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा परिवारबाट उपचार सम्भव नभएपछि सहयोगको याचना गरिएको छ ।सुत्केरी अवस्थामै बेनी अस्पतालबाट रिफर गरिएकी सुबेदीको छोराको समेत अस्पतालमै न्वारन गरिएको थियो । हाल दैनिक ३ सय एमएल पिसाव भइरहेकाले नियमित डायलासेससँगै औषधी सेवन गरी ६ महिनापछि मात्रै आवश्यक परेमा प्रत्यारोपण गर्ने पर्ने चिकित्सकले बताएका छन् । सुबेदीको उपचारमा आर्थिक संकलन अभियान सञ्चालन भइरहेको छ ।

विज्ञापन