परापुर्वकालमा गाउँघरतिर बुढापाकाले पित्तल र काठबाट निर्मित हुने तमाखु हुक्का तान्ने गर्दथे । अझैपनि ग्रामिण क्षेत्रमा बुढापाकाको हातमा तमाखु भेटिन्छ । अहिले हरेक अभिभावकसँगै आजकल रेस्टुरेन्टमा छोराले हुक्का तानेको देखिन्छ । घरमा लुकिलुकी चूरोट सेवन गर्ने छोराछोरीले अभिभावकसँगै होटल–रेष्टुरेन्टमा हुक्का तान्ने विकृति मौलाएको छ । बेनीमा यूवापुस्ताको जमघट हुने होटल–रेस्टुरेन्टको मेनुमा ‘हुक्का एभाइलेवल’ भन्ने भेटिन्छ ।

छोराछोरीले आमाबुबाकै अगाडी हुक्का तान्ने, विद्यालयको पोशाकमै हुक्काको धुँवामा रमाउने, चुरोट, बियर तथा वाइन पिएको फोटो देखाउन लाज मान्नेहरु हुक्का पिएको फोटो भने सजिलै सामाजिक सञ्जालमा पोष्ट गर्ने आजकल फेसन जस्तै बनेको छ । हुक्कालाई पानी पिएजस्तै र स्वास्थ्यमा कुनै पनि असर नगर्ने गरी कलिला बालबालिकादेखि बृद्धबृद्धासम्मले हुक्का तान्ने गरेपनि यसको असरका बारेमा समान्य जानकारी समेत कसैलाई छैन् ।

स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रबेरीका फ्लेबरमा रेस्टुरेन्टहरुमा सजाएर राखिएका विभिन्न रङ र साइजका शिशा, नर्घिल, अर्घिले, वाटरपाइप, हुब्बल बब्बल, गोजाजस्ता नामले चिनिने हुक्का चुरोटको सर्को कहिल्यै नतानेका युवायुवतीले हुक्काको स्वाद चाखिसकेका छन्। एउटा हुक्का पिउनु २ सय खिल्ली चुरोटपिउनुभन्दा बढी हानिकारक हुन्छ।हुक्काका पारखीले धुम्रपान भनेर स्वीकार गदैनन् ।

उनीहरुले विदेशी उत्पादन भएकाले फ्लेबरले स्वास्थ्यलाई समेत कुनै असर नगर्ने जिकिर गरेपनि हुक्कालाई पछिल्लो समय विषजस्तै मानिन्छ ।हुक्कामा राखिएको फ्लेबर सूर्तीलाई चारकोलको कोइला प्रयोग गरी सल्काइने गरिन्छ। चारकोलको धुँवाबाट कार्बनमोनोअक्साइड र पोल्यारोम्याटिक हाइड्रोकार्बोन निस्कन्छ, जुन मानव स्वास्थ्यलाई अत्यन्त हानिकारक मानिन्छ ।

बेनीका चोक–गल्लीहरुमा भेटिने हुक्काका पारखीले कहिल्यैपनि विश्व स्वास्थ्य संगठनको प्रतिवेदन हेरेका छैनन् ।उनीहरूलाई हुक्का सेवन गर्नेहरूले चुरोट सेवन गर्नेभन्दा २ सय गुणा बढी हानिकारक धुँवा सेवन गरिरहेका हुन्छन् भन्ने हेक्का पनि छैन् । विश्वकै ठूला स्वास्थ्य क्षेत्रका निकायको प्रतिवेदनमा समेत चुरोटभन्दा ३ गुणा निकोटिन, १० गुणा कार्बनमोनोअक्साइड, २५ गुणा टार, ५० गुणा लिडको मात्रा हुन्छ हुक्कामा हुन्छ भनेर स्पष्ट लेखिएको छ ।

क्यान्सर इपिडिमियोलोजी, बायोमार्कर्स एन्ड प्रिभेन्सन जर्नलमा सान डिआयो स्टेट युनीभर्सिटीका शोधकर्ता नाडा कासिमले उल्लेख गरेअनुसार हुक्का प्रयोग गर्ने र त्यसको धुवाँ सुँघ्न बाध्य मानिसमा खतरनाक रसायन बेन्जिनको प्रभाव परेर रक्तक्यान्सर ल्युकेमिया हुने सम्भावना बढ्ने देखिएको छ। कासिमको अनुसन्धानको निष्कर्षअनुसार हुक्काले ल्युकेमियाको खतरामा मात्र बढाउँदैन, फोक्सो र मुखको क्यान्सर तथा मुटुको रोग लाग्न सक्छ।यो अनुसन्धानमुलक खोजलाई नै विश्वका स्वास्थ्य क्षेत्रले प्रयोग गर्ने गर्दछन् ।

म्याग्दीमा लागुपदार्थको सेवनकर्ताको संख्या ह्वात्तै बढेको छ । यसलाई हुक्का तान्ने संस्कृतिले समेत सघाइरहेको देखिन्छ । कलिला बालबालिकालाई हुक्का संस्कृतिमा आर्कषित गर्ने गतिविधिलाई रोक्ने प्रयासमा जिल्लाका सरोकारवाला निकायको चासो देखिदैन् । हुक्कालाई नियमिन गर्ने वातावरण बनाउँदै यसलाई प्रयोग गरेपनि नियमिन गर्नुपर्छ । हुक्का विषजस्तै भएको स्वास्थ्य संगठनको प्रतिवेदनलाई सरोकारवालाहरूले बेवास्ता गरे भविस्यमा अवस्था भयावह हुने निश्चित छ । हुक्कामा प्रयोग हुने रसायनीक तत्वको परिक्षण आवश्यक छ । File photo