म्याग्दीको सदरमुकाम बेनीको एक रेष्टुरेन्टमा विद्यालयको पोशाकमै हुक्का तान्दै थिए । घरबाट खाजा खर्चका लागि अभिभावकलाई मागेर ल्याएको पैसाले रेष्टुरेन्टमा बसेर मःम सँगै ७ कक्षामा अध्ययरत चारजना बालकले हुक्काको धुँवामा रमाउँदै थिए । केहीदिन अगाडी बेनीकै एक रेष्टुरेन्टमा एक निजी विद्यालयका ५ जनाको समुहले जन्मदिन मनाउने केकसँगै हुक्का तान्दै गरेको दृष्य देखिएको थियो । माध्यामिक तहका विद्यार्थीले फेसनको रुपमा जन्मदिन, उत्सव तथा विभिन्न कार्यक्रमको बाहनामा हुक्का तान्न थालेका छन् ।

गत असारको अन्तिम साता बेनीमा सम्पन्न पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्सतर्फ स्वर्ण पदकको आशा गरिएकी एक छात्राले अघिल्लो दिन रेष्टुरेन्टमा साथीहरूसँग रेष्टुरेष्टमा हुक्का तानेकी थिईन् । सदरमुकाम बेनीकै एक विद्यालयमा अध्धयरत उनले भोलीपल्ट प्रतियोगितामा सबैभन्दा पहिले मैदानबाट निस्कनुप¥यो ।

नगरपालिकास्तरीय प्रतियोगितामा स्वर्णपदक जितेकी उनले शिक्षकलाई स्वास्थ्यमा समस्याका कारण नभई रमाईलोका लागि तानेको बताएकी थिईन् । उनीजस्तै उक्त दिन हुक्का तान्न रेष्टुरेन्ट हानिएका अघिल्लो प्रतियोगितामा पदक जितेका कुनैपनि खेलाडीले पदक चुम्म सकेनन् । हुक्काले उनी करिव पाँचदिनसम्म विरामीजस्तै भएको थिए ।

यो तीनवटा प्रतिनिधिमुलक घटनामात्रै हुन् । कुनै कानुनी बन्देज नभएको हुक्कामा कलिला बालबालिका नै आर्कषित हुन थालेपछि हुक्का तान्नेको जगजगी देखिन्छ ।विद्यालय उमेरका बालबालिकालाई अभिभावकले नै खाजा खाने भन्दै रेष्टुरेन्टमा लगेर हुक्का तान्न सिकाउने गरेको दृष्यहरु समेत बेनीमै भेटिन्छ । चिया पसलमा चुरोटको जक्सनजस्तै होटल तथा रेष्टुरेन्टमा हुक्का तान्नेले हुक्काबाट कुनैपनि असर नगर्ने जिकिर गर्दछन् । ‘यो फेसनका लागि मात्रै हो,‘चुरोट जस्तो असर हुदैन’ पोशाकमा भेटिएका एक स्कुले विद्यार्थीले प्रतिवाद गदैं भने ।

उनले आफ्नो अभिभावकलाई हुक्का तान्ने जानकारी गराएपनि चुरोट जस्तो हानिकारक नहुने भन्दै कुनै अवरोध नगर्ने उनको तर्क थियो । चुरोट, गाँजा, रक्सीसँगै हुक्काले यूवापुस्तालाई कुलततर्फ आर्कषित गरिरहेको छ ।हुक्काले विद्यार्थीलाई कुलतसँगै पढाई समेत नराम्रोसँग बिग्रिएको बताउँदै उनले हुक्कालाई नियमन अवस्था देखिएपनि सम्बन्धित निकाय मौन छन् । विभिन्न रङ र साइजका हुक्का तान्दा पैसासँगै कलिलै उमेरदेखि रोग समेत निम्त्याएको छ । चुरोटभन्दा १० गुणा हानिकार हुक्काले यूवापुस्तालाई रोगी बनाउँदै छ भने होटल तथा रेष्टुरेन्टमा विभिन्न रङका हुक्कामार्फत आयआर्जन थपिदैछ । केही रेष्टुरेन्टको आम्दानी नै हुक्काले चलिरहेको छ ।

होटल र रेष्टुरेन्टका क्याविनहरूबाट हुक्काको मुस्लो निस्कन्छ ।हुक्कालाईशिशा, नर्घिल, अर्घिले, वाटरपाइप, हुब्बल बब्बल, गोजाजस्ता नामले हुक्का चिनिन्छन् ।स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रबेरीका फ्लेबरमा उपलब्ध हुक्कामा यूवाजस्तै यूवतीहरू पनि आर्क्षित हुनै गएका छन् । पहिलोपटक हुक्का सेवन गर्नेहरुलाई असज भएपनि नियमित सेवन गर्नेहरुलाई सहजै हुन्छ। यता चिकित्सकले हुक्का चुरोटभन्दा बढी हानिकारक हुने बताउँछन् ।

बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर नवराज बस्ताकोटीले चुरोट बढिमा दुईजनाले सेयर गरी सेवन गर्न मिल्ने भएपनि हुक्का १० जनासम्मले सामुहकि रुपमा प्रयोग गर्ने गरिएकाले पनि यसले अन्य रोगहरु समेत निम्त्याउने बताए ।  ‘एकब्यक्तिको रोग अर्कोमा सजिलै संक्रमण हुन्छ,‘हुक्काको पाइपभित्रै पनि संक्रमण हुने सम्भावना हुन्छ’ बस्ताकोटीले भने।  उनका अनुसार पाइप राम्रोसँग सफा नगरेको अवस्थामा जटिल रोगहरु समेत सर्ने भएकाले सचेत हुन अनुरोध गरे । हुक्कामा चुरोटभन्दा ३ गुणा निकोटिन, १० गुणा कार्वनओनोअक्साइड, २५ गुणा टार, ५० गुणा लिडको मात्रा हुने भएकाले पनि हुक्कालाई रोगको साथीको रुपमा समेत लिने गरिन्छ ।  चिकित्सकले समेत हुक्कालाई डरलाग्दो रोगका संक्रमण फैलिने बताइरहेको अवस्थामा पनि जनचेतनामुलक कार्यहरु सञ्चालन भएका छैनन् ।

बेनी र जिल्लाका ब्यापारिक केन्द्रमा रहेका होटलमा दैनिक ४ सयले खाने गरेको एक तथ्याङले देखाएको छ । १६ सय भन्दा बढी हुक्काका पोड विक्री देखिन्छ। पछिल्लो एकबर्षयता ठूलो संख्यामा हुक्का विक्री हुने गरेको छ। बेनीबजारसँगै तातोपानी, दरबाङ, गलेश्वर सहित उत्तरी क्षेत्रका होटलमा राखिएको छ । होटलमा चुरोट सेवन गर्न छुट्टै स्थान तोक्नुपर्ने अवस्था भएपनि हुक्कालाई खुल्ला ठाउँमै राखिन्छ । हुक्का होटलसँगै ब्यक्तिगत रुपमा घरमै समेत प्रयोग गर्ने प्रयोगकर्ता समेत भेटिन्छन् । हुक्काको प्रयोगकर्ता ८० प्रतिशतभन्दा धेरै यूवाहरु नै छन् । हुक्का र चुरोटलाई दुब्र्यनमा बस्ने यूवाहरुको सुरुवाती चरणको रुपमा लिइन्छ ।