चरम विपन्नताको कारण मृगौलामा समस्या देखिएपनि उपचारबाट बन्चित भएकी बेनी नगरपालिका–५ पुलाचौरकी निशा सुबेदीलाई स्पेनमा रहेका म्याग्देलीको पहलमा पहिलो चरणमा १८ हजार आर्थिक सहयोग गरिएको छ । प्रसुति सेवाका क्रममा समस्या देखिएपछि थप उपचारका लागि पोखरामा रहेकी सुबेदी आर्थिक अभावले अस्पतालबाट निस्किएर कोठामा बसेको खवर बेनीअनलाइनमा प्रकाशित भएपछि स्पेनमा रहेका दिपक सुबेदीले १८ हजार १७६ रुर्पैयाँ संकलन भएको निसा बचाउ अभियानका नेत्रराज सुबेदीले बताए ।

उनका अनुसार स्पेनबाट दिपक सुबेदी, राजेन्द्र दाहाल, कृपा पौडेल, प्रकाश तिवारी, विनोद तिमिल्सिना, रुद्ध आचार्य, योजना तिमिल्सिना, अक्कल बोहोरा,अजिता पाईजा, अनुसिया बुढाथोकीले सहयोग गरेका थिए । सहयोग संकलनको संयोजन गरेका दिपक सुबेदीले थप सहयोग जुटाउन पहल गर्ने बताए । उनले पारिवारिक समस्याका कारण बाल्यकालदेखिनै समस्या भोक्दै आएकी सुबेदीको उपचारमा अभियान सञ्चालन गर्न समेत अपिल गरेका छन् ।

पिसावमा समस्या देखिएपछि उपचारको क्रममा मृगौलाको डायलासिस गनुपर्ने भएपनि आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको आफन्तको भनाई छ । गत साउन २ गते सुत्केरी भएलगत्तै सिकिस्त भएकी २६ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा परिवारबाट उपचार सम्भव नभएपछि सहयोगको याचना गरिएको छ ।सुत्केरी अवस्थामै बेनी अस्पतालबाट रिफर गरिएकी सुबेदीको छोराको समेत अस्पतालमै न्वारन गरिएको थियो । हाल दैनिक ३ सय एमएल पिसाव भइरहेकाले नियमित डायलासेससँगै औषधी सेवन गरी ६ महिनापछि मात्रै आवश्यक परेमा प्रत्यारोपण गर्ने पर्ने चिकित्सकले बताएका छन् । सुबेदीको उपचारमा आर्थिक संकलन अभियान सञ्चालन भइरहेको छ ।