धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक पत्रकारले फरक शैलीबाट जन्मदिन मनाएका छन् ।  पत्रकार हरिकृष्ण गौतमले आफ्नो जन्मदिनको अवसरमा स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक साम्रागी सहयोग गरेका छन् । बुधबार विद्यालयमा एक कार्यक्रम १२ जना विद्यार्थीलाई ज्यामेटिक्स बक्स सहित स्टेशनरी साम्रागी र पाँचजना शिक्षकलाई डायरी वितरण गरिएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा स्वर्गीय बालकृष्ण गौतमले प्राथमिकतहसम्मको शिक्षा लिएको विद्यालयमा छोरामार्फत सहयोग प्राप्त गरेकोमा उत्साहित भएको प्रधानध्यापक टेकनाथ शर्माले बताए । कार्यक्रममा सहभागि बुढापाकाले समेत स्वर्गीय गौतमका बारेमा चर्चा गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा जनकल्याण माविका शिक्षक शिव बानियाँले पत्रकार गौतमले भविस्यमा पनि स्वर्गीय पिताको सम्झनामा विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए।

उनले पत्रकारितासँगै म्याग्दीका सामुदायिक विद्यालयमा समेत एक गैरसरकारी संस्थामार्फत पुस्तकालय स्थापनाको अभियानमा समेत सक्रिय रहेको अवस्थामा सहयोग जुटाउन पहल गरेको बताउँदै जन्मदिनको अवसरमा स्वर्गीय पिताको नाममा सहयोगले नयाँ सन्देश प्रवाह गरेको बताए । कार्यक्रममा यूवा पुरन बानियाँले मन्तब्य राखेका थिए ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नन्दलाल जैशीको अध्यक्षता र हरिप्रसाद सुबेदीको स्वागतमा सम्पन्न भएको थियो । पत्रकार गौतमले सोही विद्यालयमा स्थापना भएको पुस्तकालयको विकास तथा पठन क्रियाकलापमा समेत एक गैरसरकारी संस्थामार्फत साथ दिएका थिए ।