बेनी नगरपालिका–५, पुलाचौरमा क्रियाशिल शिवालय आमा समूहको नवनिर्मित भवनको बुधबार उद्घाटन भएको छ । गत आर्थिक वर्षमा बेनी नगरपालिकामार्फत वडा कार्यालयको आर्थिक सहयोगमा बनाइएको भवनको औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

बेनपा–५, पुलाचौरको वडा कार्यालयबाट तीनलाख, महिलाहरुले चन्दा सङ्कलन ९५ हजार र पानीपँधेरा सामुदायिक वन उपभोक्ता समूहको २० हजार रुपैयाँ सहयोगमा दुईकोठे र एउटा सभाहलसहित भवन निर्माण गरिएको शिवालय आमा समूहले जनाएको छ । कार्यक्रममा भवन निर्माण गर्दा लागेको कुल खर्च पाँचलाख ९५ हजार रुपैयाँ बराबरको प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाको प्रतिवेदन समूहका सचिव विन्दु सुवेदी र कोषाध्यक्ष लक्ष्मी पौडेल सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नवनिर्मित भवनको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकामार्फत महिलाहरुको आर्थिक सशक्तिकरणको साथसाथै भौतिक संरचना निर्माणमा जोड दिइएको बताए । बेनपा–५, का कार्यवाहक वडा अध्यक्ष रामप्रसाद सुवेदीले नयाँ भवनको महिलाहरुले सही रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका प्रधानाध्यापक कमलप्रसाद पौडेल, पुलाचौर–काठमाडौं समाजका उपाध्यक्ष डम्बरबहादुर केसी, एकता युवा क्लबका सचिव बबी केसी, वडास्तरीय महिला सञ्जालका अध्यक्ष शान्ति पौडेल र पानीपँधेरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवीदत्त पौडेलले मन्तव्य राखेका थिए । कार्यक्रम शिवालय आमा समूहका अध्यक्ष भगवती पौडेलको अध्यक्षता, सहसचिव प्रभा सुवेदीको सञ्चालन र सदस्य करिस्मा केसीको स्वागतमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा तीजको अवसरमा दर खुवाउनुका साथै नाचगान समेत गरिएको थियो ।

विज्ञापन