युएईमा कार्यरत एक नेपालीको उपचारकै क्रममा मृत्यु भएको छ । डेढ महिनादेखि आबुधाबिको माफरक अस्पतालमा उपचार गराइरहेका उदयपुर पुरानदहका ३८ वर्षीय केदार कुमार कठायतको विहिबार ज्यान गएको हो ।आवुधाविमा रहेको मिडिल ईस्ट कम्पनीमा सेक्युरेटीमा कार्यरत कठायत दुई महिना अघि व्यायाम गर्ने क्रममा एक्कासी बेहोस भएर ढलेका थिए ।

उनलाई तत्कालै साथीहरुले अस्पताल पुर्याएका थिए । शरीरमा रगत जमेको र एउटा मिर्गौलाले समेत काम गर्ने छोडेको कारण उनको आइसीयुमा राखेर उपचार गरिएको थियो । उपचारमा केही सुधार आएपनि फेरि पहिले जस्तै बेहोस भएपछि डाक्टरले अब बचाउन नसकिने बताएको दुई दिनपछि उनको ज्यान गएको कठायतका आफन्त सन्तोष कोइरालाले जानकारी दिएका छन् ।

यता केदारको ज्यान गएको खबरले उनका ५१ वर्षीय काका नरेन्द्र बहादुर कठायतको पनि हृदयघातका कारण ज्यान गएको बताइएको छ । साथै श्रीमानको युएईमा भएको मृत्युको खबरले उनकी श्रीमती पनि बेहोस् भएको बताइएको छ ।अहिले कठायतको शब खलिफा अस्पताल आवुधाविमा राखिएको छ भने प्रक्रिया पूरा गरेर उनको शब नेपाल पठाउन आवस्यक पहल भइरहेको नेपाली दूतावास युएईका काउन्सिलर भेष बहादुर कार्कीले बताएका छन् । केदारको परिवारमा बुबा आमासहित श्रीमती र दुई छोरी रहेको बताइएको छ । www.sansarnews.com

विज्ञापन