आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गइरहेको अवस्थामा एक यूवाले मृगौला पीडितलाई सहयोग गरी मनाएका छन् । पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ घरभई हाल बेनीमा बस्ने ओमप्रकाश शर्माले बेनी नगरपालिका–५ पुलाचौरकी निशा सुबेदीलाई ५ हजार सहयोग गरेका छन् ।

प्रसुति सेवाका क्रममा समस्या देखिएपछि थप उपचारका लागि पोखरामा रहेकी सुबेदी चरम विपन्नताको कारण मृगौलाको उपचारमा समस्या भएपछि सुरु भएको अभियानमा जन्मदिनको अवसरमा सहयोग गरेको निसा बचाउ अभियानका नेत्रराज सुबेदीले बताए । लोकदिप बचत तथा ऋण सहकारी संस्थाका सचिव समेत रहेका शर्माले जन्मदिनमा उपचारमा समस्या भएकी विरामीलाई सहयोग गरेको बताउँदै उपचारमा सहयोगको अभियानमा जुट्न समेत अनुरोध गरे ।

उनले पारिवारिक समस्याका कारण बाल्यकालदेखिनै समस्या भोक्दै आएकी सुबेदीको उपचारमा अभियान सञ्चालन गर्न समेत अपिल गरेका छन् । पिसावमा समस्या देखिएपछि उपचारको क्रममा मृगौलाको डायलासिस गनुपर्ने भएपनि आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको आफन्तको भनाई छ । गत साउन २ गते सुत्केरी भएलगत्तै सिकिस्त भएकी २६ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा परिवारबाट उपचार सम्भव नभएपछि सहयोगको याचना गरिएको छ । सुत्केरी अवस्थामै बेनी अस्पतालबाट रिफर गरिएकी सुबेदीको छोराको समेत अस्पतालमै न्वारन गरिएको थियो । हाल दैनिक ३ सय एमएल पिसाव भइरहेकाले नियमित डायलासेससँगै औषधी सेवन गरी ६ महिनापछि मात्रै आवश्यक परेमा प्रत्यारोपण गर्ने पर्ने चिकित्सकले बताएका छन् । निसाको उपचारमा विभिन्न देशमा अभियान सुरु गरिने जनाइएको छ ।

विज्ञापन