दुवै मृगौला खराब भएपछि उपचारमा सहयोगको याचना गरेका एक यूवालाई ३ लाख आर्थिक सहयोग गरिएको छ । बेनी नगरपालिका वडा नं ५ भीरमुनीका डेकनाथ शर्मालाई स्वर्गीय देवदत्त उपाध्याय पौडेलका सन्ततीहरूले उपचारमा पहिलो चरणको ३ लाख सहयोग जुटाएको पीडित डेकनाथका दाजु विज्ञान शर्माले जानकारी दिए। निदान अस्पताल काठमाण्डौंमा उपचार गराइरहेका शर्माको डायलासिस सहित अन्य उपचारका लागि आर्थिक अभाव भएपछि पहिलो चरणमा उक्त सहयोग गरिएको जनाइर्एको छ ।

घरको कमजोर आर्थिक अवस्थाका कारण केही समय अघिसम्म सदरमुकाम बेनीबजारमा सामान्य चियापसल गर्दै आएका शर्माको अचानक सहनै नसक्ने गरी टाउको दुखेपछि अस्पतालमा गएर जाँच गर्दा दुवै मृगौला खराब भएको र तुरुन्त उपचार नगरे जिन्दगी नै जोखिममा रहेको चिकित्सकले बताएपछि उनलाई उपचारका लागि काठमाण्डौं लगिएको थियो । आफन्तको मृगौला म्याच नभएपछि दाताको खोजी भैरहेको र त्यसो नभएमा एउटा मृगौला फेर्नका लागि २० देखि ६० लाख रुपैयाँसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ ।

अभियानमा ओमकुमारी शान्ति कोषले २५ हजार तथा स्थानीय भृकुटी युवा क्लव र भृकुटी आमा समूहले शर्मा बचाउँ अभियान संचालन गरेर आर्थिक सहयोग संकलन गरिरहेको छ । देश विदेशमा रहेका म्याग्देली संघसंस्था र व्यक्तिहरुसंग सहयोगका लागि अपिल गरिएको र विभिन्न मुलुकहरुमा पनि सहयोग संकलन अभियान जारी रहेको छ ।

शर्माको परिवारमा १४ वर्षका छोरा,श्रीमती र बृद्धअवस्थाका बुबाआमा छन् । शर्मा विरामी भएर अस्पतालमा भर्ना भएपछि परिवारमा पनि ठूलो समस्या आइपरेको छ । कमाइ गरेर घरखर्च चलाउने व्यक्ति नै विरामी भएपछि उपचार कसरी गर्ने भन्ने पिरलो त छ नै, त्यसमाथि पनि घरखर्च चलाउने,छोरालाई पढाउने र वृद्ध सासु ससुराको औषधोपचार गर्ने खर्चको अभावमा शर्माकी श्रीमती पनि छट्पटिइ रहेकी छन् ।