म्याग्दी प्रवासी नेपाली (मोना) अष्ट्रेलियाले ३१ अगस्त शनिबार पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभलमा पहिलो बिग आइकन गगन पुनको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिनेछन् । पहिलो बिग आइकन पुनले अष्ट्रेलियामा रहेका म्याग्देलीसँगै नेपालीलाई बेनीको बजार, नौमति बाजा, तिम्रो मायाले, यो बासेको भोलेले, पहिलो भेट, सिरिमा सिरी जस्ता चर्चित गितहरु प्रस्तुत गर्नेछन् । म्याग्देलीमाझ परिचित पुनले लोकप्रिय गितमार्फत दर्शकको मन जित्ने बताएका छन् ।

नेपाल चर्चित कलाकारहरु सुगम पोखरेल, शिव परियार, तृष्णा गुरुङसँगै पुगेका पुनले अग्रज गायकगायिकाको माझमा आफ्नो प्रस्तुतीलाई उत्कृष्ट बनाउने बताए । ‘यहाँका म्याग्देलीलाई निराश हुन दिन्न,‘संगितमार्फत सबैको मन जित्ने प्रयास गर्नेछु’ पुनले भने।  म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नाम निवासी पुनले खाडी र यूरोपका विभिन्न देशमा पुगेर आफ्नो सांगितिक प्रस्तुती दिएका छन् ।

म्याग्देलीको साझा संस्थामा आवद्ध भएर म्याग्देलीकै अगाडी सांगितिक प्रस्तुतीको क्रममा म्याग्दीका लोकप्रिय र मौलिक गीतलाई समेत प्राथमिकता दिने बताए । म्युजिक र स्पोर्ट्स फेस्टिभलको पहिलो कार्यक्रम स्वरुप भलिबल र बास्केटबलका खेलहरु सम्पन्न भइसकेको अवस्थामा शनिबार बिहान फुटबल टिमहरु बिच फुटबल प्रतियोगिता, सम्मान सँगै ४ बजे देखि ९ बजे सम्मको सांगेतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।