नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा माधवप्रसाद रेग्मी चयन भएका छन् । पार्टीको जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नं १ मा पार्टीको जिल्ला उपसभापति समेत रहेका रेग्मीलाई चयन गरेको हो । सभापति खम बहादुर गर्बुजा (खम्बीर) को सभापतित्वमा बसेको बैठक क्षेत्रीय कार्यसमितिमा जिल्ला समितिमा रहेका सदस्यलाई कार्यसमितिमा चयन गरिएको छ ।

पार्टीले संघीय संरचना बनाउने अभियान अन्तरगत प्रदेश निर्वाचन क्षेत्रीय समितिमार्फत अर्को निर्वाचन नहुदाँसम्म यसै कार्यसमितिले आफ्नो जिम्मेबारी अनुसार काम गर्ने पार्टी सभापति गर्बुजाले बताए । ‘जिम्मेबारी अनुसार काम गर्नुहुनेछ,‘स्पष्ट योजना सहित जनताको घरदैलोमा पुग्ने गरी काम गर्नुहोस्’ गर्बुजाले भने । शनिबार क्षेत्र २ अन्तरगत दरबाङमा भेला बोलाइएको छ । दरबाङको भेलाले सभापतिको चयन गर्ने छ भने कार्यसमितिलाई समेत पूर्णता दिने बताइएको छ ।

संघीय संरचना अन्तरगत प्रदेशस्तरीय समितिलाई सर्वसम्मति चयनको वातावरण बनाउन समेत निर्देशन आएकाले सहमतिकै आधारमा सभापति तथा पदेन सदस्यमा समेत मापदण्ड पुगेकालाई स्थान दिने बताइएको छ । पार्टीभित्रका समस्या, गुनासो र जिम्मेबारीका बारेमा बैठकमा खुलेर बहस समेत भएको थियो ।