• मनिषा आचार्य

म साँझतिर कामविशेषले नजिकैको हार्डवेयर पसलमा गएकी थिएँ । पसलको अघिल्तिर ३२-३३ वर्ष उमेरका जस्तो देखिने एकजना दाइ बसेका थिए । बिहानै पसल खोलेर होला, पसले दाइ सामान यताउता मिलाउँदै झर्कोलाग्दो पाराले उक्त व्यक्तिसँग कुराकानी गरिरहेका थिए ।

उनले पसलेलाई भन्दै थिए, ‘दाइ तलब आएपछि दिइहाल्छु । यस्तो कठिन परिस्थितिमा मलाई तपाईंले नै सहयोग गर्नुहुन्छ भनेर यहाँसम्म धाएको ।’ यो अर्थमा पसले दाइले उनलार्इ अगाडि आइपरेका समस्या समाधानमा पनि सहयोग गरेका रहेछ्न् भनेर अनुमान लगाएँ ।
उनको कुरा सुनेर पसलेले भने- ‘अनि कहिले आउँछ त तिम्रो तलब ?’

ती व्यक्तिले निन्याउरो चेहरा बनाउँदै भने, ‘आज १० गते भयो । यो महिनाको अन्तिममा आउँछ ।’ उनको बोली भुइँमा झर्न नपाउँदै पसलेले भने- ‘ए १ अझै तलब आउन समय निक्कै बाँकी रहेछ । अस्ति पनि बेलामा चुक्ता गरेनौ । यसपटक पनि त्यसै गर्ने त होइन नि ? अब कामचाहिँ चलाइदिन्छु तर तलब आइसक्दा आजबाट सयकडा ३ को दरले ब्याज र सावाँसहित बुझाउनू ।’

उनले पनि ‘दाइ तलब आएको दिन म अफिस छुट्टी भइसक्दा नै आएर बुझाइहाल्छु’ भने । उनले टाउकोमा हात लाउँदै थपे- ‘मेरा लागि त यो तीज नआएको भए बेसै हुने थियो ।’नजिकै उभिएर दुवैजनाका कुरा सुनिरहेकी थिए । ती अपरिचित व्यक्तिलाई सोधेँ, ‘दाइ तीजलार्इ लिएर तपाईं किन यति धेरै हतोत्साहित हुनुहुन्छ ?’

‘आफ्नी श्रीमतीका इच्छा र चाहानालार्इ पूरा गर्ने रहर कसलार्इ हुँदैन र बैनी ! तर मेरो अवस्था यस्तै छ । थाप्लोमा ऋणको भारी नबोकेको कुनै दिन नै छैन । सानो कमाइ छ, कुनै चाडबाड आयो कि श्रीमतीलार्इ नयाँ गहना र कपडाको चिन्ता हुन्छ । आफुलार्इ भने भरैको छाक कसरी टार्ने भन्ने चिन्ताले मन पोलिरहन्छ ।

उनले जवाफ दिए- ‘बैनी, एउटा सानो खुद्रा पसलमा सहयोगीका रुपमा मजदुरी गर्छु । महिना दिनको तलब घरबार चलाउन र नानीहरुको पढाइ व्यवस्थापन गर्नसम्म धौधौ हुन्छ । तलब आउन नभ्याई यता तलबभन्दा बढी ऋण लागेको हुन्छ । १५ दिन भयो घरमा बुढीले सुनका गहना किन्देऊ नत्र तिमिसँग बस्दिँन भनेर कचकच गरेर हैरान परिन् । त्यही कचकचले दिनभरि काममा चैन छैन । साहुले काममा ध्यान दिनुस् भनेर गाली गरिरहन्छ । प्रफुल्ल भएर दिनभर आफ्नो काम गर्न नि सक्दिनँ ।’

उनका आँखाभरि आँसु थिए । मसँग कुनै जवाफ थिएन ।

उनी एक छिन थामिएर फेरि बोल्न थाले, ‘आफ्नी श्रीमतीका इच्छा र चाहानालार्इ पूरा गर्ने रहर कसलार्इ हुँदैन र बैनी ! तर मेरो अवस्था यस्तै छ । थाप्लोमा ऋणको भारी नबोकेको कुनै दिन नै छैन । सानो कमाइ छ, कुनै चाडबाड आयो कि श्रीमतीलार्इ नयाँ गहना र कपडाको चिन्ता हुन्छ । आफुलार्इ भने भरैको छाक कसरी टार्ने भन्ने चिन्ताले मन पोलिरहन्छ । बर्सेनी तीजमा अरुलार्इ देखाउनकै लागि भए पनि श्रीमतीलार्इ नयाँ गर–गहना किनिदिनुपर्ने बाध्यता छ । अहिले तोलाको ७४ हजार पुगेको सुन मैले १ वर्ष मजदुरी गरेर पनि १ तोला किन्ने आम्दानी गर्न सक्ने अवस्था छैन । तीज आएपछि मेरो मात्र होइन म जस्तै अन्य गरिब दाजुभाइको पनि यस्तै हालत हुन्छ होला ।’

उनको बिहे गरेको पनि ८ वर्ष भएको रहेछ । प्रत्येक वर्ष ऋण नलागेको चाडै नै हुँदैन । उनले फेरि उदास भावमा सुनाए, ‘घरमा श्रीमती बिहेमा नि धेरै गहना ल्याइदिएनौ, चाडपर्वमा नि किनिदिँदैनौ भनेर सताउछिन् । अरुका श्रीमतीले फेसनअनुसार कपडा र गहना लगाउछ्न्, आफू भने १ वर्ष अघिबाट यही एउटा तिलहरीमा चित्त बुझाउनुपरेको छ भन्छिन् । यहाँको कमाइले धानेन बैनी, बुढीलार्इ खुसी राख्नकै लागि भए पनि २–४ साल खाडीतिर जानुपर्ला भन्ने सोच बनाउदै छु ।’

उनका कुरा सुनिरहँदा मेरो मन नै भारी भयो, गला अवरुद्ध भयो । त्यहाँबाट उठेर म आफ्नो बाटो लागेँ । थप उनका कुरा सुनिरहन मलार्इ निक्कै कठिन भैसकेको थियो । यसरी सर्सर्ती हेर्दा चाडबाडको नाममा अपनाइले देखासिकीले कतिजनाको घर–परिवारमा खटपटी र सम्बन्धमा चिसोपना अनि दैनिक जीवन गुजार्नमा सकस हुँदो रहेछ भन्नेकुरा अनुमान गरेँ ।

नेपाली महिलाहरुको चाड तीज आइरहँदा महिलाहरुमा जति उत्साह छाएको देखिन्छ, उति नै मात्रामा सामान्य परिवारका पुरुषहरुलार्इ आर्थिक बोझले थिच्ने गरेको छ । हुनेखानेहरुको देखासिकी गरेर हुँदाखानेहरु ऋणको चपेटामा पर्ने गरेको पाइन्छ । ऋण खोजेरै भएपनी महङ्गो गहना र लत्ताकपडा खरिद गरेर तीज मनाउने गरेका उदाहरण हामीसँग ब्याप्त छन् । यसले गर्दा पछिल्लो समयमा तिज निकै भड्किलो र महँगो हुँदै गएको छ भने यसले समाजमा विभिन्न खालका समस्या पनि निम्त्याउने गरेको पाइन्छ ।

तीजगीतले ल्याएकाे विसङ्गति

पछिल्लो समयमा नेपाली महिलाहरुले मनाउने उत्साहको पर्व तीजलार्इ आधुनिकताको नाममा विसङ्गतितर्फ मोड्न प्रेरित गरिरहेको छ– बजारमा आएका थरीथरीका तीज गीतहरुले । उक्त गीतहरु नेपाली मौलिकता, नेपालीपन र सँस्कृतिभन्दा फरक तरिकाले तोडमोड हुँदै विकृत बन्दै गएका छन् । नेपालकी चर्चित लोकदोहोरी गायिका कोमल वलीे पोइला जान पाम.. बोलको गीत गाएर धेरै विवादास्पद बनिन् । त्यसयता अहिले खुलेआम कलाकारहरुले झन भड्किला गीत गाएर तिजको मौलिकतामाथि प्रश्नचिन्ह खडा गरेका छन् ।

‘जामा लाउँदा छोटो भयो,
सारी लाउँदा सुहाएन,
उखरमाउलो बैँस छोप्ने चिज नै भएन
जवानीले पार्यो नि पिरलो
तीज आउँदा नि पिरलो न आउदानी पिरलो
चोरी खान पल्केको यो ढाडे बिरालो….’

पछिल्लो समय यस्तै भड्किला तीज गीतहरुले नेपाली समाजमा विकृति मात्र भित्र्याएको छैन, विशेष त मौलिक तीज गीतकै गरिमामाथि प्रहार गरेको छ । पहिलेका लोक स्रस्टाहरु गाउँमा उकाली र ओराली गरेर, घुमेर सामाजिक परिस्थितिलाई बुझेर तीज गीतहरु सिर्जना गर्थे तर अहिलेका कतिपय गीतहरु सुन्दा ठमेलको चोकमा बसेर जवान युवतीका तिघ्रा हेर्दै सिर्जना गरिएको जस्तो आभास हुन्छ । हामीसँग न त यस्ता गीतलार्इ रोक्ने कुनै निकाय छ न त हामी नै यस्ता नकारात्मक चेतना फैलाउने विकृत तत्वहरुमाथि खबरदारी गर्ने हिम्मत गर्छौं । अहिले मादल र डम्फुको तालमा तीज गीतमा बज्नै छोड्यो।

नेपाली मौलिकता बोकेका तीज गीतहरु बज्नै छोडे, पप हिन्दी र अंग्रेजी गीतहरुले समेत तीजमा राम्रो बजार पिटेको देखिन्छ । यहाँ स्वतन्त्रताको नाममा स्वचन्दताले शिखर चुमेको पाइन्छ । एकजना दिदीले ठट्यौलो भावमा भन्नुभयो– ‘दशैँ–तिहारभन्दा बढी खर्च हुन्छ बैनी तीजमा । एकजना साथिले तीजमा दर खाने निम्तो दिएपछि आफ्नो नि दशा सुरु भयो भन्दा हुन्छ । एउटा दरखाने कार्यक्रमको आयोजना गर्यो भने ३० देखि ४० हजारसम्म खर्च हुन्छ ।’ अहिले त तीज जकार्यक्रम सामुदायिक विद्लय, नीजि विद्यालयहरु, कार्यलयहरुमा सम्बन्धित व्यक्तिहरुसँग चन्दा उठाएर मनाउने गरेको समेत देखिन्छ ।

तीज आउनुभन्दा एक महिनाअगाडि नै शहरका पाँचतारे होटल र पार्टी प्यालेसमा साउन बक्स बजाएर भड्किलो र पश्चिमा शैली अनुसार तीजको दर महागा होटलका खाना खाएका देखिन्छ । हामी सँग जे–जति चाडबाडमा छन्, तिनीहरुको आआफ्नो विशेषता छ । तर अहिले धर्म र संस्कृतिअनुसार मनाउनुपर्ने तीजलाई मोजमस्तीको लोभमा हाम्रो संस्कृतिलाई खेलौना बनाइएको छ ।

पहिले पहिले तीज कहिले आउँला भन्दै दिदिबहिनीहरु औंला भाँच्दै दिन गन्दै बस्ने प्रचलन थियो । रेडियो, टेलिभिजनबाट गुन्जने गीतहरु सुन्दा लाग्थ्यो– साँच्चै तीज गीत नै बजेको हो । तर अहिले आधुनिकताको नाममा तीज अतिक्रमित भएको छ । अहिले भनेको जेठमा तीज गीत गाउने असारमा पार्टी सुरु र भदौमा तीज मनाउँदा दुई चार–लाख सकिने अवस्था भएको छ । वर्षको एक दिन मनाईने चाड तीज महिनौँसम्म मनाउने चलन सुरु भएपछि परिवारिक कलह र ऋणको भारी नबढेर के बढ्छ त ?

आजको समयमा सबै कुरामा प्रतिस्पर्धा भएजस्तै सबैभन्दा बढी तीज पनि हुनेखानेहरुमा भएको देखिन्छ । शहरका सु–सम्पन्न परिवारका महिलाहरु दिनहुँजसो नयाँ लुगा र गहनामा सजिएर हिँडेको देख्दा दैनिक ज्याला गरेर खाने महिलाहरुको मनमा अशान्ति र निराशा छाउनु स्वाभाविक हो । उनीहरुसँग आफ्नो भाग्य र कर्मलाई दोष लगाउँदै बस्नुको विकल्प छैन ।

अचेल सामान्य परिवारका पुरुषहरुमा पारिवारिक दबावका कारण जसरी पनि कमाउनुपर्छ भन्ने भावना बढ्दा विभिन्न समस्याहरु बढ्दै गएका छन् । नकमाएर छाकै टार्न पनि त मुश्किल पर्न थाल्यो ।

यसर्थ हामीले आधुनिकताको नाममा मौलिकता बिर्सनु हुँदैन । यस यथार्थलाई हामी आफैँले महशुस गर्नु पर्दछ । यदि ढिला गर्यौँ भने तीज तीज रहँदैन, अनि समाज समाज रहँदैन । धार्मिक नारीहरुलाई अघि बढ्न दिनु पर्दछ । तीज सभ्य रुपले मनाउनु हाम्रो जिम्मेवारी हो । नारीको मात्र भनेर मनाईने तीज अहिले सारा नेपाली दाजुभई दिदि बहिनीहरुको चाड बन्नु सकारात्मक हो । त्यसैले तीजको मर्म अनुसार हुनेखाने र हुँदा खाने दुवै वर्गको साझा बनाउनु हामी सबैको नितान्त आवश्यक छ । Source: News24nepal.tv