प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले आर्थिक रुपमा विपन्न परिवारका सदस्यहरुको उपचारमा ओमकुमारी शान्ति कोषले खेलेको भूमिका अत्यन्तै सराह्रनीय र परोपकारी कार्य भएको बताएका छन् । ‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने मूल नारासहित स्थापित शान्ति कोषको शनिबार पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले प्रशंसा गरेका हुन् ।

सांसद थापाले म्याग्देली नागरिकहरुको उपचारका लागि ओमकुमारी शान्ति कोषले महत्वपूर्ण भूमिका खेलेको बताउँदै समाजको सबैभन्दा सर्वश्रेष्ठ प्राणी मानव जाति भएकाले एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले शान्ति कोष विपन्न परिवारको अभिन्न अङ्गका रुपमा स्थापित हुँदै गैरहेको भन्दै सहयोगको अभियान चलाएर अरुको उपचारको कार्य गर्नु निकै चुनौतीपूर्ण रहेको बताए । आगामी दिनमा पनि परोपकारी क्षेत्रमा क्रियाशिल भएर लाग्न आग्रह गर्दै कोषलाई आवश्यक सबै सहयोग गर्न आफू तयार रहेको सांसद थापाको भनाइ छ ।

सोही कार्यक्रममा पूर्व सांसद नवराज शर्माले गरिब, विपन्न र दिनदुःखी बिरामीहरुको उपचार गर्नु मानवीय कार्य भएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेसका जिल्ला सचिव क्या. मिनबहादुर कार्की, राप्रपाका अध्यक्ष विरबहादुर थापा र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले शान्ति कोषले विपन्न बिरामी वर्गहरुको उपचारमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पर्याप्त स्रोतसाधनको अभाव र व्यवस्थापकीय कमीकमजोरीका कारण राज्यले भनेजति काम गर्न नसकेको अवस्थामा शान्ति कोषले बिरामीहरुको उपचार गरेर उदाहरणीय कार्य गरेको बताए । ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले हालसम्म १ सय २९ जना बिरामीहरुको उपचार गरिएको भन्दै अब कार्यक्षेत्र विस्तार र उपसमितिहरु गठन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

शान्ति कोषका अध्यक्ष राजेश शाक्यले म्याग्दी जिल्लामा आर्थिक अभावकै कारण कसैले पनि मृत्युवरण गर्न नपरोस् भनेर कोषलाई निरन्तर रुपमा अगाडि बढाइएको बताए । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, मोना बेल्जियमका महासचिव प्रदीप थापा, उपचार प्राप्त बिरामी डकबहादुर रोका र पत्रकार घनश्याम खड्काले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अवसरमा शान्ति कोषको डेढ करोड अक्षयकोष पु¥याउने अभियानमा दुईलाख रुपैयाँ सहयोग गरी संरक्षक सदस्य बनेकाहरु भूलमाया तिलिजा, नन्दु पाईजा र प्रदीप थापा तथा शान्ति कोषलाई आवश्यक सहयोग उपलब्ध गराएको भन्दै टेकबहादुर थापालाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । साधारणसभामा शान्ति कोषका सचिव लोकेश पुनले प्रगति र कोषाध्यक्ष खम थापामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषका अध्यक्ष शाक्यको अध्यक्षता र सचिव पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गरेका थिए ।