बेनी नगरपालिका–१ उपल्लाचौरमा चर्किएको एक कोठे टिनको छानोमा बस्दै आएकी ७५ बर्षिया हिरामति कामीको घर बन्ने भएको छ । विगत एकदशकदेखि झुपडीमा कष्टकर जीवन विताइरहेकी कामीलाई लायन्स क्लव अफ बेनी पिस सिटीको सहयोगमा एकतले घर बन्ने भएको हो । क्लवले शनिबार वडा अध्यक्ष टेकबहादुर रावललाई १ लाख नगद हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष नरेश श्रेष्ठले बृद्धाको अवस्था देखेर तत्कालै क्लवले सहयोगको प्रतिबद्धता अनुसार घर बनाउने बताए । ‘१२ बर्ष उहाँले झुपडीमा विताउनुभयो, अव हामीले उहाँलाई दशैंभित्र नयाँ घर दिन्छौ’ श्रेष्ठले भने ।

उनका अनुसार क्लवको पहलमा स्थानीय प्रविधि तथा आफन्तको समेत जनश्रमदानमा घर बन्ने छ । पूरानो एकसरे ओड्ने सिरक, दाउरालाई सिरानी बनाएर सुत्ने गरेकी कामीको अवस्थामा बारेमा बेनीअनलाइनमा समाचार प्रकाशित भएको थियो। भत्किनै लागेको घरको कुनामा बनाएको अँगेना मुस्किलले एकदुई हप्तामा एकपटक बल्छ । छिमेकीले पकाएर दिएकै भरमा रात कटाउने गरेकी कामीले पेटभरी भात समेत खान नपाएको अवस्थालाई लिएर विभिन्न क्षेत्रबाट सहयोग समेत गरिएको थियो ।

मलेसियामा रहेका आशिष परियारको पहलमा तीजको अवसरमा लत्ताकपडा र खाद्यान्न सहयोग गरिएको थियो । उपल्लाचौरकै माथिल्लो बस्तीबाट विस्थापित भएकी किसानको छोराको मृत्यु भएपछि उनले त्यही बसेर गुजरा चलाइरहेकी छन्। वडा अध्यक्ष टेकबहादुर रावलले सहयोगप्रति आभार प्रकट गदैं समयमै घर सम्पन्न गर्ने बताए । उनले कामीको सामाजिक सुरक्षाभत्ता बेनपा–३ भकिम्लीमा विवाह गरेकी छोरीले प्रयोग गदै आइरहेको जानकारी पाएपछि बैंकमा रोक्का गरेपनि बृद्धाले बेनीमा जान नमानेपछि प्रयोग गर्न नपाएको बताए ।

विज्ञापन