नेपाली कांग्रेस म्याग्दीको क्षेत्र ‘ख’ को सभापतिमा कमल छन्त्याल चयन भएका छन् । शनिबार दरबाङमा आयोजित भेलामा नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको नियमावली अनुसार क्षेत्रीय कार्यसमितिको सचिव श्रीराम पौडेल (१), हिरा पुन (२), सहसचिव दिलबहादुर किसान, कोषाध्यक्ष तेजेन्द्र थापा रहेका छन् ।

कार्यसमितिको सदस्यमा नियमावली अनुसार जिल्ला कार्यसमितिका सदस्य, महाधिवेशन प्रतिनिधि सहित केही नयाँ सदस्य थप गरिएको कार्यसमिति सदस्य मोहन छन्त्यालले बताए । भेलामा म्याग्दीको निर्वाचन क्षेत्र अन्तरगत प्रदेश ‘ख’ मा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकाका क्रियाशिल सदस्य, नेताहरूको सहभागिता रहेको थियो ।

टोल, वडा, गाउँस्तरमा समेत पार्टीको संरचनालाई समेत तिब्रता दिने जनाइएको छ । नियमावली अनुसार सहमतिमा चयन भएको समितिले आफ्नो जिम्मेबारी अनुसार कार्यसम्पादन सहित पार्टीका अभियानलाई अगाडी बढाउने गरी जिल्ला कार्यसमितिले नै योजना बनाउने तयारी गरिएको छ। पार्टी सभापति खम्बीर गर्बूजाले दोहोरो जिम्मेबारी नभई नियमावली अनुसार नै चयन गरिएको बताउँदै आफ्नो जिम्मेबारी अनुसार पार्टीका गतिविधिलाई अगाडी बढाउन निर्देशन समेत दिएका छन् ।