पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा एटिएम बुथबाट झिक्ने चिनियाँ अपराधिक समूह सक्रिय भएका छन्। नबिल बैंकको एटिएमबाट पैसा झिकेपछि चिनियाँ समूह सक्रिय रहेको खुलेको हो। प्रहरीले शनिवार साँझ चार जना चिनियाँ नागरिकलाई पाँच करोड रुपैयाँ नगदसहित पक्राउ गरेको छ। अझै केही फरार छन्। बैंकरका अनुसार, कति रकम लुटिएको भन्ने अझै टुङ्गो लागिसकेको छैन। सबै बैंकबाट तथ्याङ्क माग गरिएको छ।

स्रोतका अनुसार, शनिवार नबिल बैंकका विभिन्न एटिएम बुथहरुबाट ठूलो मात्रामा नगद झिकिएको थियो। ठूलो मात्रामा पैसा झिकिएपछि कर्मचारीहरुले के भएको रहेछ भनेर सिस्टमबाट त्यसलाई ट्र्याक गर्न थाले। उनीहरुले अस्वभाविक रुपमा पैसा झिकिएको र केही शंकास्पद गतिविधि भएको थाहापाएपछि प्रहरीलाई खबर गरेका थिए।

केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको छ। यो प्रणालीमा १७ वटा बैंकहरु आवद्ध छन्। यसमा ११ बैंकको लगानी छ। यसले भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम र पस मेसिन सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा दिँदै आएको छ। प्रारम्भिक अनुसन्धानमा ६ वटा बैंकबाट पैसा झिकिएको फेला परेको छ। यसमध्ये २ वटा बैंकको प्रणाली नै ह्याक गरिएको छ। Copyrigh:bizmandu.com/