‘पुस्तकालय जाने बानीको विकास गरौं’ भन्ने मूल नारासहित आइतबार म्याग्दीमा १२औं पुस्तकालय दिवस मनाइएको छ । म्याग्दी सामुदायिक पुस्तकालयको आयोजनामा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरी दिवस मनाइएको हो । कार्यक्रममा बेनी सामुदायिक माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत मनसिका विक र कक्षा ८ की विनु छन्त्याललाई छात्रवृत्ति प्रदान गरिएको छ । यसैगरी प्रकाश माविको कक्षा १० मा अध्ययनरत दिनेश विक र ९ की यशोदा रोकालाई पनि छात्रवृत्ति उपलब्ध गराइएको छ ।

उनीहरुलाई क्रमशः तीनहजार पाँचसय रुपैयाँका दरले नगद चेक हस्तान्तरण गरिएको म्याग्दी सामुदायिक पुस्तकालयले जनाएको छ । विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पुस्तकालयलाई अब डिजिटल प्रविधि (ई–लाईब्रेरी)मा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

उनले अझै पनि पुस्तकालयको महत्व रहेको हुँदा विद्यालय उमेर समूहका विद्यार्थीहरुलाई पुस्तकालयसँग जोड्नुपर्ने बताउँदै पठनीय संस्कृतिको विकास गर्नुपर्ने बताएका छन् । पुस्तकालयलाई ग्रामीण भेगसँग पनि जोड्नुपर्ने भन्दै प्रजिअ अधिकारी ढकालले ई–लाईब्रेरीमा दर्शन, साहित्यका पुस्तकहरु भने नपाइने बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले म्याग्दीमा रुम टु रिड नेपाल र ईएलआर परियोजनामार्फत सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको बताउँदै पुस्तकालय जाने बानीको विकास गराउनुपर्ने बताए । म्याग्दी सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले पछिल्लो समय प्रविधिको विकासले पुस्तकालय जाने क्रम घटेको बताउँदै नयाँ पुस्तालाई पुस्तकालयप्रति आकर्षित गर्ने प्रयास गर्नुपर्ने बताए ।

पुस्तकालयका अध्यक्ष सन्तोष रावलले २०६० सालको म्याग्दी आक्रमणमा परेर पुस्तकालयले ठूलो क्षति बेहोरेर अहिलेको अवस्थामा आइपुगेको बताएका थिए । अध्यक्ष रावलको अध्यक्षता, सहसचिव नवराज पौडेलको सञ्चालन र साहित्य सचिव सुमन पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु सुदर्शनकुमार श्रेष्ठ, सुवासकुमार श्रेष्ठ, किरण सापकोटा, धनन्जयकुमार श्रेष्ठ र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

विज्ञापन