क्वालालम्पुर गैरआवासीय नेपाली संघ ⁽एनआरएनए₎का केन्द्रिय उपाध्यक्ष कुल आचार्यले मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपालीहरुको जीवन रक्षा तथा मर्यादित रोजगार अव गैरआवासीय नेपाली संघको प्रमुख एजेन्डा हुने बताएका छन् । नेपालबाट रोजगारी रोजगारीका लागि खाडी मुलुकहरुमा पुगेका नेपाली दाजुभाईहरुको जीवनरक्षाको विषय चुनौतीपूर्ण बन्दै गएको बताउँदै संघको आसन्न निर्वाचनका अध्यक्षका प्रत्यासी समेत रहेका आचार्यले अव संघले यो विषयलाई मुख्य प्राथमिकता दिने बताए ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद मलेसियाको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै एनआरएनएको केन्द्रिय अध्यक्ष पदका प्रबल दावेदार आचार्यले संघलाई अव विदेशमा भएका नेपालीहरुको साझा चौतारी बनाउने उदघोष समेत गरे । उनले हरेक दिन कम्तीमा दुइजना नेपालीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गरेको र मलेसियामा हरेक दिन जसो नेपाली दाजुभाईहरुको हृदयाघात भएर मृत्यु अनि अंगभंग हुने, घाइते हुने जस्ता समस्या रहेको भन्दै यसलाई संघले सामुहिक प्रयत्न मार्फत हल गर्नुपर्ने बताए।
‘विदेशीएका नेपाली दाजुभाईको जीवनरक्षाको सवाल निकै चुनौतीपूर्ण बन्दै गैरहेको छ,’ अध्यक्ष पदका उम्मेद्वार आचार्यले भने ‘अव संघले नेपाली दाजुभाई दिदिबहिनीको जीवनरक्षालाई मुख्य प्राथमिकता दिएर सवै विदेशीएका नेपालीहरुको साझा हितमा काम गर्छ ।’ मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटलमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले विदेशीका नेपालीले आपसी सहयोग र सदभाव बढाउन गरेका सामुहिक प्रयासहरुको समेत प्रशंसा गरे ।
उनले भने, ‘विभिन्न समस्यामा परेका नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई सहयोग गर्न तपाईंहरुले एउटा कल्याणकारी कोष स्थापना गर्न लाग्नु भएको थाहा पाउंदा मलाई निकै खुसी लागेको छ। त्यसमा मेरो व्यक्तिगत तथा संस्थागत पूर्ण सहयोग रहनेछ ।’ उनले आफुले पनि बेलायतमा भाडा माझेर व्यवसाय शुरु गरेको स्मरण गर्दै मलेसिया लगायतका मुलुकहरुमा काम गर्ने नेपालीहरुको पीडा आफुले राम्रो संग बुझेको बताए ।
उनले संघलाई धन हुने भन्दा पनि मनहुनेहरुको साझा चौतारी बनाउने आफ्नो मुख्य उदेश्य रहेको बताए । एनआरएन युकेका पूर्व अध्यक्ष समेत रहेका आचार्यले एनआरएन युकेले एउटा कल्याणकारी कोष खडा गरेको र त्यसबाट पीडित नेपालीहरुलाई सहयोग गर्ने परिपाटी शुरु गरेको पनि उनले स्मरण गरे। नेपाली युवाको मुख्य वैदेशिक रोजगार गन्तव्यका रूपमा रहेको मलेसियाको रोजगारी गत एक वर्ष भन्दा बढी समय देखि बन्द छ ।
मलेसिया जाने नेपाली कामदारको संख्या घटे पनि मृत्यु र अंगभंग हुनेको संख्यामा भने सबैभन्दा अगाडि छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार गत वर्ष करीब २०० जना नेपालीले ज्यान गुमाइसकेका छन् भने ६७ जना गम्भीर रूपमा अंगभंग भएका छन् । आगामी अक्टोवरमा काठमाडौंमा हुन लागेको संघको नवौं विश्व सम्मेलनमा वर्तमान उपाध्यक्ष आचार्य प्रजातान्त्रिक पक्षबाट र अर्का उपाध्यक्ष कुमार पन्त बाम पक्षबाट भावी अध्यक्षका लागि प्रतिस्पर्धामा छन् । आचार्यलाई पूर्व अध्यक्षहरु शेष घले, भवन भट्ट, देवमान हिराचनको समर्थन छ भने पन्तलाई पूर्व अध्यक्ष जीवा लामिछानेको समर्थन छ। संस्थापक अध्यक्ष उपेन्द्र महतो भने मौन छन्।

विज्ञापन