म्याग्दी पनि डेंगुको जोखिममा रहेको स्वास्थ्य क्षेत्रका जानकारहरुले बताएका छन् । लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक डेंगुको छिमेकी बागलुङ र पर्वतमा चारजना विरामी भेटिएपछि म्याग्दीमा कुनैपनि उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका प्रमुख प्रकाशराज शर्माले बताउनुभयो । सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सवारीसाधनका ग्यारेजमा रहेका टायर, खानेपानी संकलन, पानीको मुहान, फोहोर संकलन केन्द्र, कवाडी राखिएका ठाउँहरुको अवस्थालाई हेर्दा बेनी जोखिममुक्त नभएको बताउनुभएको हो ।

कार्यक्रममा स्थानीय तहको पहलमा विद्यालय, आमा समुह, यूवा क्लवमार्फत सचेतनामुलक कार्यहरु सञ्चालन गर्ने, फोहोर सङ्कलन केन्द्र तथा सवारीसाधनका ग्यारेजमा रहेका टायरको नियमित सरसफाई लगाएतका प्रचारप्रसारका अभियानलाई तिब्रता दिनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सांसद विनोद केसीले प्रदेश सरकारले सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्लाभित्र सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ ।कार्यक्रममा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमायाँ मगर लगाएत राजनीतिक दलका प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

लामखुट्ले दिउँसोको समयमा टोकेमा डेंगु लाग्ने सम्भावना बढि हुने भएकाले रोगी लामखुट्टेले सफा र फोहोर दुबै पानीमा अण्डा पार्ने र अण्डा पारेको भाडा, प्लाष्टिक, गमला, पोखरी जुनसुकै ठाउँमा अण्डा भित्तामा टाँसिएर रहने भएकाले एक बर्ष सम्म पनि नमर्ने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको तथ्याङ्ग अनुसार पोखरामा २१ जना ट्राफिक प्रहरीहरु संक्रमित रहेका र जसमध्ये १८ जना डेंगुका बिरामी रहेको र ३ जनाको रिर्पाेट आउन बाँकी रहेको छ । म्याग्दीबाट ब्यापारिक तथा अन्य विभिन्न कारणले पोखरा आवतजावत हुने भएकाले पनि संक्रमणको जोखिम रहेकाले सचेत हुनुपर्नेमा जोड दिइएको छ ।