म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित पुरानो पुस्तकालय चिटिक्क र सफा छ । विभिन्न किसिमका करिव १२ हजारको हाराहारीमा पुस्तक छन् । दु्रत गतिको इन्टरनेट सहित डिजिटल प्रविधि (ई–लाईब्रेरी)का लागि तीनवटा कम्प्यूटर समेत छन् । पाठकलाई शुद्ध खानेपानी सहित शान्त वातावरणमा अध्ययन गर्ने टेवल, कुर्चीको ब्यवस्था छ । एउटा ज्ञानको भण्डार पुस्तकालयभित्र आवश्यक पर्ने सम्पूर्ण सुविधा भएपनि पुस्तकालयमा पाठकको कमी छ । दैनिक मुस्किलले ५ जनाले पुस्तक पढ्ने गरेको अभिलेखमा उल्लेख छ ।

पुस्तकालयमा प्रवेश गर्दावित्तिकै पुस्तक राखेको ¥याकमा समेत नपुगि अधिकांसले वाईफाईको पासवोर्ड मागेर घण्टौसम्म सामाजिक सञ्जालमै ब्यस्त हुने गरेको पुस्तकालयका कर्मचारी अतुल राजभण्डारीले बताए । ‘पुस्तकालयमा आउने अधिकांस इन्टरनेटको प्रयोग गर्न आउँछन्,‘केहीले पुस्तक घरमा लैजान्छन्’ भण्डारीले भने ।

उनका अनुसार निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थीले हाजिरीजवाफ सहित अन्य विभिन्न प्रतियोगितालाई आवश्यक पुस्तक खोज्न आउने गरेको उनको भनाई छ । नयाँ पुस्ताका पाठक इन्टरनेटमै झुन्डिने गरेकाले पुस्तकालयको प्रयोग घट्दै गएको म्याग्दी पुस्तकालयका पूर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठको भनाई छ । करिव एकदशक अगाडीसम्म दैनिक पुस्तकालयमा २५ जनाभन्दा धेरै पाठक प्रवेश गर्ने गरेको बताउँदै नयाँ पुस्तामा पढ्ने रुची ह्वात्तै घटेको बताए ।

उनले पुस्तकालयमा बाल साम्रागी देखि धार्मिक, साहित्य, अंग्रेजी, हिन्दी सहित विभिन्न विधाका पुस्तक राखिएको कक्ष बाहेक श्रब्य, दृश्य, संगीत, खेलकुदका साम्रागी पनि उपलब्ध छन् । पुस्तकालय भित्रको ब्यवस्थित बाल कक्ष समेत अब्यवस्थित हुदाँ बालबालिका प्रवेश गर्न छाडेका छन् ।

दोस्रो तलाको दुईवटा दुईवटा कोठा एनआईसी एशिया बैंकको विस्तारित काउन्टर र भुइँतला भाडामा दिइएको छ ।घरभाडाबाटै प्राप्त आर्थिकले पुस्तकालय सञ्चालन,दुईजना कर्मचारीको तलब, बिजुली, इन्टनेट शुल्क, नयाँ पुस्तक तथा मर्मत खर्च गरिने अध्यक्ष सन्तोष रावलले बताए ।

बि.श २०२७ सालमा स्थापना भएको म्याग्दी पुस्तकालय ०६० साल चैत्र ७ गते तत्कालिन माओवादीले बेनी आक्रमण गर्दा भवन सहित पुस्तक जलेर नष्ट भएको थियो । तत्कालिन समयमा १७ लाख बराबरको क्षती भएपछि पुस्तकालयलाई रिड नेपाल सहित विभिन्न निकायको सहयोगमा सञ्चालनमा ल्याइएको थियो । जिल्लाको धवलागिरी गाउँपालिका ७ ताकममा रहेको जिल्लाकै पुरानो अन्नपूर्ण पुस्तकालय समेत प्रयोगविहिन अवस्थामा छ ।