नेपाली नागरिक ब्यक्तिगत सुरक्षाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य आवश्यक रहेको म्याग्दीको सदरमुकाम बेनीमा सोमबार आयोजित कार्यक्रममा बताइएको छ ।परिचयपत्रले नागरिकको सुरक्षासँगै राष्ट्रलाई समेत फाईदा हुने भएकाले दुईबर्षभित्र देशैभर परिचयपत्र वितरण गरिने उक्त कार्यक्रममा बताइएको थियो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेशका सांसद विनोद केसीले हरेक राष्ट्रिय अभियान नागरिकको हितमा हुने भएकाले राष्ट्रिय परिचयपत्रले ब्यक्तिगत सुरक्षासँगै राष्ट्रको हितमा रहेको बताए ।

 

‘अभियानलाई सफल बनाउनु सबैको जिम्मेबारी हो,‘नागरिकको सुरक्षाका लागि परिचयपत्रको महत्व देखिन्छ’ सांसद केसीले भने । उनले म्याग्दीमा तथ्याङ्क संकलन सहित वितरण अभियानमा सरकारी निकायसँगै जनप्रतिनिधिले समेत कर्मचारीलाई सहयोग गर्नुपर्ने बताए ।

सोही अवसरमा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले सहजिकरण गदै परिचयत्रपत्रको अनगिन्ती फाईदाहरू रहेको बताए । ‘नागरिकता प्राप्त गरेकालाई परिचय पत्र वितरण गरिन्छ,‘विश्वमा अनिवार्य जस्तै भएको छ’ उनले भने । परिचयपत्र वितरणको क्रममा परिचयपत्रमा जैविक र बैयक्तिक पहिचानदलाई सुरक्षित गर्ने भण्डारण तथा त्यसमा पहुँच सिमित ब्यक्तिको भएकाले पनि दुरुपयोगको सम्भावना नभएको बताए ।

जैविक पहिचान अन्तरगत फोटो र औंलाको छाप,आँखाको रेटिंना र वैयक्तिक पहिचान अन्तर्गत नाम, थर, ठेगाना, उमेर, लिंग तथा त्यस्तै अन्य व्यक्तिगत विवरणहरु उल्लेख हुने भएकाले हरेक किसिमको परिचयपत्रहरुलाई एउटै कार्डमा भण्डारण गर्न मिल्ने सकिने अवस्थामा राज्यको स्रोतसाधनको दुरुपयोग नहुने तथा नक्कली परिचयपत्र देखाएर कानुन उल्लंघनका घटना समेत न्यूनिकरण हुने बताए ।

उनले हरेक जिल्लामा वितरण सुरु गरेको दुईबर्षभित्र परिचयपत्र नलिनेलाई जरिवाना समेत गरिने बताए ।कुनैपनि व्यक्तिको गोपनीयतालाई भंग हुन नदिनका लागि विभिन्न निकायले कानुनद्वारा तोकिए बमोजिम मात्र प्रयोग गर्न सक्नेगरी गोपनियता सुनिश्चित गरिएको बताइएको थियो । म्याग्दीमा तिहारलगत्तै गाउँस्तरमै पुगेर विवरण संकलन गरी यसैबर्षदेखि परिचयपत्र वितरण गरिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

उनले अभियानमा सहयोग गर्न स्थानीय तह,सरोकारवाला निकायलाई समेत अनुरोध गरेका थिए ।कार्यक्रममा परिचयपत्रलाई उपलब्ध गराएको विवरणको सुरक्षा, नागरिकताको आवश्यकता तथा तथ्याङ्क अद्यावधी, प्रवासमा रहेकालाई वितरण गर्ने प्रक्रिया लगाएत विभिन्न विषयमा जिज्ञासा राखिएको थियो ।

जिल्लाको १ नगरपालिका र पाँच गाउँपालिकामा खटिएका कर्मचारीलाई आधिकारिक तथ्याङ्क उपलब्ध गराउन समेत अनुरोध गरिएको थियो । कार्यक्रममा संविधानसभाका सदस्य गोविन्द पौडेल, जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरकारी निकाय, वित्तिय संस्थाका प्रतिनििध लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो।