म्याग्दी पनि डेंगुको जोखिममा रहेको भन्दै मंगलबार सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक डेंगुको छिमेकी बागलुङ र पर्वतमा चारजना विरामी भेटिएपछि म्याग्दीमा कुनैपनि संक्रमण फैलिनसक्ने भन्दै मंगलबार विहान बेनीबजारमा घरदैलो तथा फोहोर संकलन सहित जानकारीमुलक कार्यक्रम गरिएको छ ।

जिल्ला प्रशासन, बेनी नगरपालिका, स्वास्थ्य कार्यालय, सामुदायिक प्रहरी सेवाको आयोजनामा बेनीबजारमा डेंगुको संक्रमण फैलिनसक्ने स्थानहरुमा पुगेर सरसफाई गरिएको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।

नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी सहितको टोलीले बेनीबजारमा सचेतनामुलक कार्यक्रम सहित कालिपुल क्षेत्रमा पुगेर डेंगुको जोखिम मानिने स्थानमा सरसफाई गरेको थियो ।प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बेनीबजार क्षेत्रमा धेरै ध्यान दिनुपर्ने बताउँदै बेनीबजारमा सचेतनामुलक कार्यलाई तिब्रता दिने बताउनुभयो । पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको तथ्याङ्ग अनुसार पोखरामा २१ जना ट्राफिक प्रहरीहरु संक्रमित र बागलुङ र पर्वतमा समेत ४ जना डेंगुका बिरामी भेटिएपछि म्याग्दीमा समेत प्रकाप फैलिन सक्ने भन्दै जनचेतनामुलक कार्यक्रम सहितको अभियान सञ्चालन गर्नुपर्नेस्वास्थ्य कार्यालयका प्रमुख प्रकाशराज शर्माको भनाई छ । म्याग्दी र कालिगण्डकी नदी आसपासको क्षेत्र,यातायातका साधनमा पोखरा,तराईका विभिन्न जिल्लाबाट आवतजावत गर्नेहरूबाट संक्रमणको सम्भावना रहेको बताइएको थियो ।