चरम विपन्नताको कारण मृगौलामा समस्या देखिएपनि उपचारबाट बन्चित भएकी बेनी नगरपालिका–५ पुलाचौरकी निशा सुबेदीलाई स्वदेश तथा विदेशबाट हालसम्म १ लाख ७० हजार संकलन भएको छ ।  प्रसुति सेवाका क्रममा समस्या देखिएपछि थप उपचारका लागि पोखरामा रहेकी सुबेदी आर्थिक अभावले अस्पतालबाट निस्किएर कोठामा बसेको खवर बेनीअनलाइनमा प्रकाशित भएपछि नेत्रराज सुबेदीको पहलमा सुरू भएको आर्थिक संकलन अभियानले तिब्रता पाएको छ ।

हालसम्म जन्मदिन, तीजको खर्च समेत कटाएर सहयोगसँगै विदेशमा रहेका म्याग्देलीले समेत आफ्नो क्षमता अनुसार सहयोग जुटाइरहेको निशा बचाउन अभियानका संयोजक सुबेदीले बेनीअनलाइनलाई बताए । ‘उपचारमा धेरै खर्च हुने देखिएको छ,‘नियमित चिकित्सकको निगरानीमा उपचार भइरहेको छ’सुबेदीले भने । पारिवारिक समस्याका कारण बाल्यकालदेखिनै समस्या भोक्दै आएकी सुबेदीको उपचारमा अभियान सञ्चालन गर्न समेत अपिल गरेका छन् ।

बिहानबेलुकी हातमुख जोड्न समेत मुस्किल हुने आमाले रेखदेख गरिरहेको अवस्थामा उपचारमा सहयोग जुटाउनुको विकल्प नभएको अभियानका संयोजक सुबेदीको भनाई छ । पिसावमा समस्या देखिएपछि उपचारको क्रममा मृगौलाको डायलासिस गनुपर्ने भएपनि आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको आफन्तको भनाई छ । गत साउन २ गते सुत्केरी भएलगत्तै सिकिस्त भएकी २६ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा परिवारबाट उपचार सम्भव नभएपछि सहयोगको याचना गरिएको छ । सुत्केरी अवस्थामै बेनी अस्पतालबाट रिफर गरिएकी सुबेदीको छोराको समेत अस्पतालमै न्वारन गरिएको थियो । हाल दैनिक ३ सय एमएल पिसाव भइरहेकाले नियमित डायलासेससँगै औषधी सेवन गरी ६ महिनापछि मात्रै आवश्यक परेमा प्रत्यारोपण गर्ने पर्ने चिकित्सकले बताएका छन् । सुबेदीको उपचारमा अस्टेलिया लगाएतका देशहरुमा समेत सहयोग संकलन भइरहेको छ ।