अन्तर आमा समूहस्तरीय तीजगीत प्रतियोगितामा मंगला गाउँपालिका–५, अर्मनको नवज्योती आमा समूह प्रथम भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा बेनी नगरपालिकाको सहयोग र धौलागिरी नाट्य समूह म्याग्दीद्वारा आयोजित प्रतियोगितामा सहभागी कुल १६ समूहहरुमध्ये नवज्योती प्रथम हुन सफल भएको हो ।

प्रतियोगिताबाट रघुगंगा गाउँपालिका–१, वेगखोलाको मनिबराही आमा समूह द्वितीय, मंगला–२, सल्यानको महारानी आमा समूह तृतीय र बेनी नगरपालिका–५, पुलाचौरको चिप्लेटी आमा समूह सान्त्वना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद १२ हजार, आठहजार, पाँचहजार र तीनहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ।

तीजको भाकामा समसामयिक तथा महिला सशक्तिकरणका विषयलाई समावेश गरेर गीत गाइएको थियो । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले हरितालिका तीज सबै नेपालीहरुको चाड भएकाले संरक्षण गर्नुपर्ने बताइन् । उनले चाडपर्वहरुले कला, संस्कृतिको जगेर्नाका साथै उजागर गर्ने हुँदा धर्म, संस्कृतिलाई जोगाएर चाडपर्व मनाउनुपर्नेमा जोड दिएकी छिन् ।

अन्तरपार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष मुना बानियाँले चाडपर्वलाई मौलिक रुपमा मनाउनुपर्ने आवश्यक रहेको बताइन् ।महिला अधिकारकर्मी रेखाकौशल रेग्मीले नेपालीहरुले मनाउने सबै चाडपर्वहरुको आ–आफ्नै महत्व र विशेषता रहेको बताएकी थिइन् । कार्यक्रम संयोजक नारायण पौडेलको अध्यक्षता, धौलागिरी नाट्य समूहका सचिव अमित विश्वकर्माको सञ्चालन र नगरपालिकास्तरी महिला सञ्जालका अध्यक्ष भावना पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

विज्ञापन