बेनी नगरपालिका–८ कालिपुल बसपार्कमा रहेका सवारीसाधनका ग्यारेजमा राखिएका टायरभित्र लामखुट्टेको लार्भाको गुड भेटियो । लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक डेंगुको छिमेकी बागलुङ र पर्वतमा चारजना विरामी भेटिएपछि सोमबार सुरू गरिएको सचेतनामुलक कार्यक्रममा कालिपुल बसपार्कमा रहेका तीनवटा ग्यारेजको बाहिर राखिएका टायरमा लामखुट्टेको लार्भाको भण्डार भेटिएको छ ।

प्रयोग नहुने पुरानो टायरभित्र जम्मा भएको पानी आसपासमा लामखुट्टेको फुल भेटिएपछि तत्कालै सबै टायरलाई नष्ट गर्न निर्देशन दिइयो । फोहोर तथा ग्यारेजमा रहेका टायरमा जम्मा भएको पानीमा अत्याधिक लामखुट्टेको लार्भा भेटिएपछि खोज्ने र नष्ट गरिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रकाशराज शर्माले बताए ।

 

‘ग्यारेजभित्र रहेका टायरहरू सबैभन्दा जोखिम देखियो,‘टायरभित्रका लार्भाले पनि प्रष्ट पारेको छ’ शर्माले भने ।उनले बेनीबजारा क्षेत्रमा सर्वसाधारणको बाख्लो आवतजावत हुने स्थानमा ग्यारेज भएकाले पनि डेंगु रोग सार्ने एडिस लामखुट्टेको जोखिम रहेको बताए ।उनले राष्ट्रिय राजमार्गसँग जोडिएको कालिपुल बसपार्क क्षेत्रको अवस्थाले बेनीबजार जोखिममुक्त नभएको बताए ।

म्याग्दीमा कुनैपनि संक्रमण फैलिनसक्ने भएकाले पनि तत्काल ग्यारेजभित्रका टायर ब्यवस्थापन, फोहोर संकलन हुने स्थान, पानी जम्ने ठाउँ लगाएतका क्षेत्रमा ब्यापक ध्यान दिनुपर्ने बताए ।उनले करिब १० वटा टायरभित्र लामखुट्टेको लार्भा भेटिएकाले ग्यारेज आसपासमा संक्रमणको उच्च जोखिममा रहेको बताए। नेपालका विभिन्न जिल्लाबाट कालिपुल हुदै मुस्ताङ लगाएतका क्षेत्रमा आवतजावत गर्नेबाट संक्रमणको सम्भावना रहेकाले नियमित सरसफाई गर्न स्थानीयलाई घरदैलो अभियानमार्फत अपिल समेत गरिएको थियो।

जिल्ला प्रशासन,बेनी नगरपालिका,स्वास्थ्य कार्यालय,सामुदायिकप्रहरी सेवाको आयोजनामा बेनीबजारमा डेंगुको संक्रमण फैलिनसक्ने स्थानहरुमा पुगेर सरसफाई गरिएको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताए । ‘पहिलो अभियानमै धेरै जोखिमको अवस्था देखियो,‘अब सरसफाईसँगै जनचेतनामुलक अभियान सञ्चालन गर्नुपर्छ’ श्रेष्ठले भने ।नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी सहितको टोलीले बेनीबजारमा सचेतनामुलक कार्यक्रम सहित कालिपुल क्षेत्रमा पुगेर डेंगुको जोखिम मानिने स्थानमा सरसफाई गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।उनले ग्रामिण क्षेत्रको तुलनामा डेंगुको संक्रमण बजार क्षेत्रमा अत्याधिक हुने भएकाले पनि बजारमै केन्द्रित गरी अभियान सञ्चालन गर्नुपर्ने बताए । म्याग्दी र कालिगण्डकी नदी आसपासको क्षेत्र,यातायातका साधनमा पोखरा,तराईका विभिन्न जिल्लाबाट आवतजावत गर्नेहरूबाट संक्रमणको सम्भावना रहेको बताइएको थियो । पानीको मुहान, फोहोर संकलन केन्द्र, कवाडी राखिएका ठाउँहरूमा तत्काल लार्भा नष्ट गर्नुपर्ने अवस्था आएको बताए ।

लामखुट्टेले दिउँसोको समयमा टोकेमा डेंगु लाग्ने सम्भावना बढि हुने भएकाले रोगी लामखुट्टेले सफा र फोहोर दुबै पानीमा अण्डा पार्ने र अण्डा पारेको भाडा, प्लाष्टिक, गमला, पोखरी जुनसुकै ठाउँमा अण्डा भित्तामा टाँसिएर रहने भएकाले एक बर्ष सम्म पनि नमर्ने शरीर ढाक्ने लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, शरीरको खुल्ला भागमा मलम प्रयोग गर्नुपर्ने लगायत उपाय अपनाउनुपर्ने बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले बताए ।

विज्ञापन