(गोपाल आचार्य)
पश्चिम म्याग्दीको एतिहाँसिकस्थल ताकमकोतको नयाँ मन्दिरमा देवीदेवताको मुर्ति प्रतिस्थापन गरिएको छ । धौलागिरी गाउँपालिका–७ ताकमको शीरमा अवस्थित कोतमा बिहिबार पुजापाठ गरी धार्मिक विधि अनुसार जगन्नाथ, अन्नपूर्ण, शिव, राम, लक्ष्मण सहित विभिन्न २२ भगवनाको मुर्ती प्रतिस्थापन गरिएको हो । पुरातात्विक महत्वका प्राचीन शैली र एतिहासिक महत्वलाई कायम राख्न ताकम कोतमा स्थानीयको पहलमा संकलन भएको आर्थिकले निर्माण गरिएको मन्दिरमा मुर्ती राखिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष कलानिधि सुबेदीले बताए ।

‘एउटा महत्वपूर्ण काम सम्पन्न भएको छ,‘ थप पूर्वाधारका काम तिब्र गतिमा अगाडी बढेका छन्’ सुबेदीले भने ।उनका अनुसार मन्दिर ब्यवस्थापन समितिका पदाधिकारी, मन्दिर पूर्ननिर्माण समितिका अध्यक्ष तेजेन्द्र थापा सहित स्थानीयबासी, सरोकारवाला निकायको उपस्थितीमा एतिहाँसिक मुर्तीलाई नयाँ मन्दिरमा स्थानान्तरसँगै पूजाआजा गरिएको थियो । मन्दिरको पूननिर्माणमा स्थानीयले करिव १ करोडको प्रतिबद्धता प्राप्त गरेका छन भने करिव ७० लाख संकलन भएको अध्यक्ष सुबेदीले बताए ।

नेपालको प्राचिन सभ्यताको चिनारीको रुपमा रहेको भक्तपुरबाट ल्याइएको इट्टाको प्रयोगसँगै सयौंबर्ष अगाडीको मन्दिरको रुपमा देखाउने प्रयास भइरहेको छ । मन्दिरलाई धार्मिक बाहेक पर्यटकीयस्थल बनाउन आवश्यक संरचनालाई पुरानै रुप दिने प्रयास गरिएको छ ।

ताकमकोत, जगन्नाथ अन्नपूर्ण मन्दिरको पुरानो स्वरुपलाई बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय बर्ष राज्य सञ्चालन गरेको मन्दिरमा धवलागिरी र मालिका गाउँपालिकाबाट बर्षेनी पुजाआजा गर्ने गरिन्छ । समुन्द्री सतहदेखी दुई हजार ६ सय मिटर उचाईमा अवस्थित मन्दिरबाट धौलागिरी, गुर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगाएतका हिमश्रंखला, घना जंगल, ग्रामिण बस्तीको अवलोकन गर्न सकिन्छ ।

देवीदेवताको मुर्ती रहेका कोतमा पुजाआजा र भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वासले बर्षेनी सयौंको संख्यामा भक्तजन पुग्ने गरेका छन् । मन्दिरमा नवदुर्गा, जेष्ठी पूर्णीमा, मंसिर पुर्णीमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने गरिन्छ। कोत घरमा तोप, खुँडा, खुकुरी, ढाल, तरबार लगाएतका ऐतिहाँसिक महत्वका हतियार, पुराना साम्रागी रहेका छन् ।कोतमा सुरुङ्गा छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, मन्दिर मुर्ती लगाएत तत्कालिन समयमा दरवारको सुरक्षामा आवश्यक पर्ने गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाह आकारको ढुंगा लगाएत रहेका छन् ।

विज्ञापन