म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना बिरामीहरुमा डेंगुरोग लागेको सकारात्मक लक्षणहरु भेटिएको बेनी अस्पताल म्याग्दीले जनाएको छ ।

अहिले डेंगु रोगको संक्रमण भएका ती बिरामीहरुको उपचार भैरहेको बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले बताउनुभयो । डा. घिमिरेका अनुसार डेंगु पहिचान भएका बिरामीहरु पोखरा बसेर आएको हुँदा डेंगु रोगको संक्रमण देखिएको हुन सक्ने अनुमान गरिएको छ ।

छिमेकी जिल्ला पर्वत र बागलुङमा डेंगु रोगका बिरामीहरु भेटिएपछि म्याग्दीमा उच्च सतर्कता अपनाउँदा अपनाउँदै डेंगुरोग लागेका बिरामीहरु भेटिएपछि चुनौती थपिएको छ । पछिल्लो समय देशका विभिन्न जिल्लाहरुमा डेंगुका संक्रमित बिरामीहरु दिनहुँजसो भेटिन थालेपछि म्याग्दी जिल्लामा सचेतना अभियान चलाइएको थियो । तर, अभियान चल्दै गर्दा डेंगुरोग लागेका बिरामीको पहिचान भएको हो ।

छिमेकी जिल्ला पर्वत र बागलुङमा डेंगु रोगका बिरामीहरु भेटिएपछि म्याग्दीमा उच्च सतर्कता अपनाइएको छ । पछिल्लो समय देशका विभिन्न जिल्लाहरुमा डेंगुका संक्रमित बिरामीहरु दिनहुँजसो भेटिन थालेपछि म्याग्दी जिल्लामा पनि सचेतना अभियान चलाइएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको सरोकारवाला निकायको वैठकले डेंगुरोग विरुद्धमा सचेतनामूलक अभियानसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार सदरमुकाम बेनीमा बेनी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय म्याग्दीको संयुक्त आयोजनामा डेंगुरोग विरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको थियो । एडिज एजिप्टाई नामक लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगुरोग सार्ने काम गर्दछ । दिउँसोको समयमा सक्रिय हुने यो लामखुट्टे सफा पानी जमेको ठाउँमा बस्ने र फुल पार्ने गर्दछ । भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार भने छैन । डेंगु रोगबाट बच्न म्याग्दीको बेनीमा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी बजारवासीहरुलाई डेंगुबाट बच्नका लागि उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोधका साथै पानी जम्ने गरी खुल्ला ठाउँमा राखिएका टायरहरु हटाउन सुझाव दिइएको छ । सडक र आसपासका ठाउँमा फालिएका फोहोरहरु सङ्कलन गरी नष्ट गरिएको थियो ।

डेंगुरोग लागेपछि एक्कासी उच्च ज्वरो आउनु, ज्वरो ५–७ दिनसम्म रहिरहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कटकट्टी दुख्नु, शरीरमा बिमिरा आउनु र रक्तश्राव हुनु, जोर्नी, हड्डी तथा मांसपेशी दुख्नु, उच्च ज्वरोसँगै माथिका लक्षणहरुमध्ये दुई वा दुईभन्दा बढी लक्षणहरु देखापरेको खण्डमा डेंगु ज्वरो भएको शङ्का गर्न सकिन्छ । यसैगरी डेंगु लागेपछि अन्य लक्षणहरु तथा चिह्नहरुमा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, छालामुनि रगत जमेको धब्बाहरु देखापर्ने, बेहोस हुने जस्ता आदि समस्याहरु पनि देखिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।