दुईदिन पोखरामा बसेर फर्किएका म्याग्दीमा दुई यूवामा डेंगु संक्रमण देखियो । बेनीमा नीजि क्लिनिक सञ्चालन गदै आएका यूवाले चिकित्सकको सुझाव अनुसार औषधी सेवन गरिरहेका छन् । बेनी नगरपालिका–५ पूलाचौरका अर्का यूवालाई पनि डेंगुरोग लागेको भेटिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले बताए ।

‘अहिलेसम्म तीनजनामा पोजेटिभ देखिएको छ,‘म्याग्दी डेंगुको उच्च जोखिममा छ’ घिमिरेले भने । उनका अनुसार पोखराबाट बेनी आउनेहरुलाई चेकजाँच सहित जिल्लामा समेत ब्यापक जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा बेनी नगरपालिका ५ पुलाचौरका यूवालाई समेत डेंगुरोग लागेको लक्षणहरु भेटिएपछि गाउँतिर समेत डेंगु उक्लिएको अनुमान गरिएको अस्पतालमा क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले बेनीअनलाइनलाई बताए । ‘अस्पतालमा विरामीको चाप बढेको छ, सबै विरामीको परिक्षणका लागि पठाउने सक्ने अवस्था छैन्’ डा. बस्ताकोटीले भने। बजार क्षेत्रमा अत्याधिक संक्रमण फैलिने अवस्थामा ग्रामिण क्षेत्रका विरामीमा समेत देखिएपछि थप सतर्कता अपनाउनुपर्नेमा उनले बताए ।

उनले केही संकास्पद विरामीको रगत परिक्षणका लागि पठाइएकोमा दुईजना बेनी र एक गाउँको यूवामा संक्रमण देखिएको उनले बताए । छिमेकी जिल्ला पर्वत र बागलुङमा डेंगु रोगका बिरामीहरु भेटिएपछि म्याग्दीमा उच्च सतर्कता अपनाउँदा अपनाउँदै डेंगुरोग लागेका बिरामीहरु भेटिएपछि चुनौती थपिएको छ ।

उता पोखरामा पोखरा ७ सय ९१ मा डेंगु संक्रमण फैलिएको छ । पोखराबाट म्याग्दी नियमित सवारीसाधनमा आउनेहरुबाटै संक्रमण फैलिन सक्ने भएकाले पनि नाकामा स्वास्थ्य परिक्षण सहित सर्तकता अपनाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

म्याग्देली शिक्षा, ब्यापारिक तथा विभिन्न कारणले पनि पोखरामा आवतजावत गर्ने गर्दछन् । एडिस एजेप्टाई नाउ गरेको पोथी लामखुट्टेले टोकेको तीनदेखि १४ दिन सम्ममा डेंगुको लक्षण देखिन्छ। डेंगू नियन्त्रण गर्न जनस्वास्थ्य कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय नागरिक र स्वंसेवीको सहयोगमा सचेतना कार्यक्रम गरेपनि तीनजनामा देखिएपछि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बेनी अस्पतालले जनाएको छ ।

वर्षा याममा पानी जम्ने थोत्रा टायर, टिनका बट्टहरु, खाली ड्रम, गमला, फुलदानी, आदिमा पानी जम्दा त्यहा यो फैलाउने लामखुट्टेले फुल पार्ने र यसको संक्रमण झन बढ्ने खतरा हुने भएकोले घर वरपर सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सको सुझाव छ । बेनीमा रहेका सवारीसाधनका ग्यारेज सहित फोहोर फाल्ने ठाउँमा फोहोर ब्यवस्थापन गर्न चिकित्सकले अनुरोध गरेका छन् ।