पारिवारिक भेटघाटमा यूके गएका मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाको हितमा हुने गरी विभिन्न सार्वजनिक कार्यक्रममा ब्यस्त छन् । शिक्षा, पर्यटन, कृषि लगाएत गाउँपालिका भित्रका सम्भावना र आवश्यकतालाई केन्द्रित गरी मंगला गाउँपालिका तथा आसपासका क्षेत्रबाट यूकेमा बसोबास गर्ने म्याग्देलीसँग भेटघाटलाई तिब्रता दिएका हुन्।

यूके गएलगत्तै मोना यूके, बिम समाज यूकेले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा पश्चिम म्याग्दीमा ब्यवसायिक शिक्षा सहित मंगला शिक्षा क्याम्पसको स्तरउन्नती, स्नातक तहमा थप संकाय थप, पुस्तकालय, छात्राबास भवन निर्माण, पर्यटकीय क्षेत्रको विकास, अर्गानिक कृषि, महिलाको जीवनस्तर उकास्ने विभिन्न ब्यवसायिक उद्योगको स्थापना लगातए उत्पादनमुखी क्षेत्रमा लथानी गर्न अनुरोध गरेका थिए ।

‘मंगलामा तपाईहरुको लगानीका प्राथमिकताहरूको सुची पनि संकलन गर्ने प्रयासमा छु,‘यो मेरो पारिवारिकसँगै गाउँपालिका भित्रका सम्भावनामा लगानी जुटाउने यात्रा पनि हो’ रोकाले भने । उनले मंगला शिक्षा क्याम्पसको जग्गा ब्यवस्थापनमा यूकेबाट प्राप्त सहयोगलाई धन्यवाद दिदैं थप १ करोड संकलन गर्ने अभियानका बारेमा समेत जानकारी गराएका थिए । आर्थिक संकट र जग्गाको अभाव रहेको बेलामा तत्कालिन समयमा विदेश विभाग प्रमुखको जिम्मेबारी लिएर अध्यक्ष रोकाले ठूलोआर्थिक संकलन गरेका थिए ।

भेटघाटको क्रममा बरंजाको झाक्रीपानी, कुहुँको टोड्के, अर्मनको चाङ्गा सहितका पर्यटकीयस्थलका बारेमा जानकारी तथा कृषि अर्गानीक मल उद्योग, अर्गानीक कृषि खेती, सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा, गरिब तथा विपन्न विद्यार्थीलाई पोशाक सहित शैक्षिक साम्रागी सहयोग आवश्यक रहेको अध्यक्ष रोकाले बताए ।

उनले बेनी नगरपालिकासँग जोडिएपनि आन्तरिक आयको स्रोत कमजोर रहेकाले सरकारी बजेटबाट मात्रै गाउँपालिकाको मुहार परिवर्तन गर्न नसकिने बताउँदै आफ्नो वडामा आवश्यक आधारभुत आवश्यकतालाई पुरा गर्ने अभियानमा सहयोग गर्न समेत अपिल गरेका थिए ।उनले वडाभित्र शिक्षा सहितका योजनाहरुमा विषय अभियान सञ्चालन गर्ने आफ्नो योजनाका बारेमा समेत सुनाएका थिए ।

यूके बसाईको क्रममा रोकालाई तीन गाउँले समाज अन्तरगत भकिम्ली, बरंजा र अर्मनले स्वागत तथा भेटघाट कार्यक्रम राखेको छ भने सबै पाँचवटै वडाबाट यूकेमा पुगेकालाई प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । मोना यूकेका अध्यक्ष दल जुग्जालीले मंगला गाउँपालिका अध्यक्ष रोकासँगको भेटघाट कार्यक्रमले निकै उत्साह थपिएको बताए । उनले गाउँपालिकाको विकासमा अध्यक्षको भिजनबाट उत्साहित भएको बताउँदै प्रबासीको सहयोगबाट म्याग्दीमा भइरहेका सकारात्क परिवर्तनका बारेमा समेत उच्च प्रशंसा गरेको बताए ।

अध्यक्ष रोकाले गाउँपालिकाबाट विश्वका विभिन्न देशमा रहेकालाई सामाजिक तथा दिर्घकालिन योजनाहरुका बारेमा जानकारी गराउने योजना बनाएका छन् । उनले मंगला शिक्षा क्याम्पसलाई जिल्लाकै आर्कषक बनाउने गरी विषय थप तथा जिल्लाबाहिरबाट समेत अध्ययनका लागि आउने वातावरण बनाउने गरी पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखेका छन् ।