पर्यटकीयस्थल लभ्लीहिल पुग्न पदमार्ग निर्माण, पर्यटकको आगमन बढाउने तयारी

पछिल्लो समय निकै चर्चा बटुलेको पर्यटकीयस्थल लभ्लीहिल पुग्नका लागि बेनीदेखि पक्की पदमार्ग निर्माणसम्पन्न भएको छ। पदमार्ग निर्माणको कार्यले पूर्णता पाएको छ भने अझै प्रवेशद्वार निर्माणको काम भने जारी नै रहेको छ । म्याग्दीको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी सदरमुकाम बेनीदेखि नजिकै बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँमा रहेको पर्यटकीयस्थल लभ्लीहिल पु¥याउनका लागि पदमार्ग बनाइएको हो ।

‘मोना–बेनी–लभ्लीहिल’ नाम राखिएको पदमार्गको गएको वर्ष भदौ ८ गते शिलान्यास गरिएको थियो भने शिलान्यास भएको झण्डै ६ महिनापछि गत माघ २८ गतेबाट मात्रै पदमार्ग निर्माणको काम अगाडि बढाइएको थियो । बेनी नगरपालिका, प्रवासी म्याग्देलीहरुको संस्था मोना आइईसी र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा पदमार्ग निर्माण गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवतजावतका साथै नगरपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई चिनाउन लागि पदमार्ग निर्माण गरिएको बेनी नगरपालिकाले जनाएको छ । पदमार्ग निर्माणका लागि क्रमशः बेनपाले ५०, मोना आइईसीले ४० र म्याग्दी उद्योग वाणिज्य संघले १० प्रतिशत रकम बेहोर्ने गरी त्रिपक्षीय साझेदारीमा पदमार्ग निर्माण गर्न सम्झौता गरिएको थियो । पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले पदमार्ग निर्माणको काम सकिएको जानकारी दिए ।

उनका अनुसार पदमार्गको दायाँ र बाँया रेलिङ जडान गरी रङरोगन समेत गरिएको हुँदा अहिले प्रवेशद्वार (गेट) निर्माणको कामलाई अघि बढाइएको बताएका छन् । गेट निर्माणको कार्य आगामी एक हप्ताभित्रै सम्पन्न गर्नेगरी तीव्र गतिमा अघि बढाइएको छ भने आउँदो असोज महिनाको दोस्रो साता पदमार्गको औपचारिक रुपमा उद्घाटन गरिने अध्यक्ष कर्माचार्यले बताए । भदौ महिनाभित्र पदमार्गको बाँकी सबै काम सकिने उनको भनाइ छ ।

पदमार्गको स्टिमेट अनुसार ६ सय ७७ मिटर लम्बाई रहेकोमा ६ सय ६० मिटर पदमार्ग बनेको छ । २ मिटर चौडाइको सिँढीमा ६ इन्च उचाई रहेको छ भने पैताला १२ देखि १४ इन्चसम्म रहेकोमा पदमार्गको दुवैतर्फ रेलिङ हालिएको छ । पदमार्गको प्रारम्भिक चरणमा ५७ लाख आठहजार नौसय छ रुपैयाँ लागत अनुमान गरिए पनि करिब ७९ लाख रुपैयाँमा पदमार्ग सम्पन्न गरिएको बताइएको छ ।