जिल्ला प्रहरी कार्यालय म्याग्दीमा गएको आर्थिक वर्ष २०७५÷७६ को एक वर्षको अवधिमा कुल १० ओटा बालिका अधिकार उल्लङ्घनका घटनाहरु दर्ता भएका छन् । प्रहरी कार्यालयमा दर्ता भएको तथ्याङ्क अनुसार बालिका अधिकारसँग सम्बन्धित विभिन्न प्रकृतिका घटनाहरु रहेका थिए ।  म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा १ ओटा बालविवाहको मुद्दा दर्ता भएको छ । यसैगरी मानव बेचबिखनसम्बन्धी १, बालयौन दुराचारको २, जबरजस्ती करणी उद्योगसम्बन्धी विभिन्न ४ ओटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको उनले बताए ।

त्यस्तै बालिका भूण हत्यासम्बन्धी १ वटा मुद्दा दर्ता भएको छ भने यससम्बन्धी मुद्दामा प्रतिवादी नखुलेका कारण अनुसन्धान भैरहेको छ । त्यसैगरी जबरजस्ती करणीतर्फ (सामूहिक बलात्कार)को एकवटा मुद्दा दर्ता भएको प्रनाउ मरासिनीले बताएका छन् । प्रहरीमा दर्ता भएका बालिका अधिकार उल्लङ्घनसम्बन्धी घटनामा संलग्न आरोपितहरु पूर्पक्षका लागि थुनामा रहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो समय म्याग्दीमा बालिकासँग सम्बन्धित घटनाहरु घटेको देखिन्छ ।

विज्ञापन