गण्डकी प्रदेश राजधानी पोखरा झण्डै ८ सय जनालाई डेंगु संक्रमण भएको छ । प्रदेशको राजधानी पोखरामा फैलिएलगत्तै म्याग्दी, बागलुङ, पर्वत सहित स्याङ्जा, तनहुँ, नवलपूरमा डेंगुको संक्रमण भएका बिरामीहरु भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । नवलपुरमा एक बृद्धाको मृत्यु भएकोमा डेंगुकै आशंका गरिएको छ । महिनादिन अवधिभित्रै यति धेरै संख्यामा संक्रमण बढ्दै गएकाले सचेत रहन आग्रह गरिएको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगु फैलिएपछि म्याग्दीमा समान्य सचेतना कार्यक्रम गरिएको अवस्थामा तीनजना विरामी फेला परेका छन् । पोखराबाट बेनी आएका दुईजना बिरामीको संक्रमण देखिएकाले उच्च जोखिममा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले बताए । ‘पोखरामा जोखिम बढ्नु छिमेकी जिल्लालाई पनि चुनौती हो,‘सतर्कता अपनाउनुपर्छ’डा. घिमिरेले भने ।

उनका अनुसार पोखराबाट आवतजावत गर्ने सर्वसाधारण सचेत हुनपर्ने बताए । पोखरामा यो संक्रमण उपचार गर्न खटिएका अस्पतालका डाक्टर र नर्सलाई समेत देखिएको छ। एडिस एजेप्टाई नाउ गरेको पोथी लामखुट्टेले टोकेको तीनदेखि १४ दिन सम्ममा डेंगुको लक्षण देखिन्छ। डेंगू नियन्त्रण गर्न स्वास्थ्य कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय नागरिक र स्वंसेवीको सहयोगमा सचेतना कार्यक्रम गरिएपनि ग्रामिण क्षेत्रमा समेत सचेतनामुलक कार्यक्रम हुन सकेका छैनन् ।

वर्षा याममा पानी जम्ने थोत्रा टायर, टिनका बट्टहरु, खाली ड्रम, गमला, फुलदानी, आदिमा पानी जम्दा त्यहा यो फैलाउने लामखुट्टेले फुल पार्ने र यसको संक्रमण झन बढ्ने खतरा हुने भएकोले घर वरपर सरसफाईमा ध्यान दिनु पर्ने बरालले बताए।दिउँसो टोक्ने कालो रंगको डेंगु फैलाउने लामखुट्टेको जिउँमा सेतो पट्टी हुन्छ। डेंगूको संक्रमण भएमा चिसो लाग्नुको साथै टाउको दुख्ने, ज्वरो आउने, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाकवाकी लाग्नु वान्ता हुनु रगत बग्नु वा रगतको रैश देखिनु लगायतका लक्षण देखिने गर्दछ।