म्याग्दीमा पनि डायलोसिस सेवा संचालन हुने

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले म्याग्दी जिल्ला सहित प्रदेशका केही जिल्लामा आगामी पुष महिना भित्र डायलासिस सेवा संचालन गर्ने बताउनुभयो । विश्व फिजियोथेरापी दिबसको अवसरमा आयोजित निःशुल्क फिजियोथेरापि सेवाको शनिबार विहान पोखरामा उद्घाटन गर्दै मन्त्री पुनले ढिलोमा पुष महिना भित्र प्रदेशका केही जिल्लामा निःशुल्क डायलोसिस सेवा संचालन गर्ने तयारी गरेको बताउनुभयो ।

म्याग्दी, स्याङजा, पर्वत र गोरखा गरि ४ जिल्लामा डायलोसिस सेवा संचालन गर्ने अन्तिम तयारी भएको मन्त्री पुनले बताउनुभयो । डायलोसिस सेवा संचालनार्थ स्टाफ नर्सहरुलाई तीन महिने तालिम दिन सुरु गरिएको मन्त्री पुनको भनाई छ ।उक्त सेवा संचालनको लागि अब मेसिन खरिदको लागि प्रकृया अघि बढाउन लागेको मन्त्री पुनको भनाई थियो ।

विभिन्न जिल्लामा उक्त सेवा सुरु भएसंगै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डायलोसिसका बिरामीको सङख्या घट्ने मन्त्री पुनको भनाई छ ।स्वास्थ्य क्षेत्रमा केही परिणाम आउने गरी दाताको खोजी समेत गरेको मन्त्री पुनले जानकारी दिनुभयो । प्रदेशको हरेक ठाउँमा फिजियोथेरापीको सचेतना जगाउनु पर्नेमा मन्त्री पुनको जोड थियो । उनले प्रदेशको स्वास्थ्य ऐन र स्वास्थ्य निती बनाउने समयमा सरोकारवाला निकायसंग छलफल गरी ल्याउने वचन दिनुभयो ।

औषधि पसलेहरुले विरामीहरुलाई औषधि दिदा राम्रोसंग परामर्श गराएर मात्र वितरण गर्न उहाँको भनाई छ । समय समयमा स्वास्थ्य परिक्षण नगर्नु र स्वास्थ्य प्रति चासो नदिनुले धेरैलाई मृगौला, फेल हुने समस्याले सताउने गरेको मन्त्री पुनले बताउनुभयो । पोखरा विश्व बिद्यालय स्कुल अफ हेल्थ साइन्सेस बी।पी।टी।का कार्यक्रम संयोजक विजय सुवेदीले फिजियोथेरापि बजारमा माग भएकोले पोखरा बिश्वबिद्यालयमा एकेडेमीक रुपमा यसलाई अघि बढाएको बताउनुभयो ।

पुरानो दुखाईको लागी फिजियोथेरापी भन्ने नाराका साथ शनिबार विश्व फिजियोथेरापी दिबसको अवसरमा नेपाल फिजियोथेरापी संघ गण्डकी प्रदेशको आयोजनामा पोखराको चिप्लेढुङ्गगा आयोजित एक दिने निःशुल्क प्यारालाईसिस नसा तथा हाडजोर्नी रोगको फिजियोथेरापी शिबिरबाट एक सय ४८ जना लाभान्वित भएको संघले जनाएको छ ।

यता म्याग्दीमा डायलोसिस सेवा संचालन हुने खवरले मृगौला पीडितको उपचारमा सहज हुने मृगौला प्रत्यारोपणसँगै पीडितलाई परामर्श दिने अभियानमा रहेका ओमकुमारी शान्ति कोषका कार्यसमिति सदस्य डक बहादुर रोकाले बताउनुभयो । उहाँले म्याग्दीका मृगौला पीडितलाई आर्थिक अभावमा डायलासिस सेवा लिन समस्या भइरहेको अवस्थामा जिल्लामै सेवा सञ्चालन हुने अवस्थाले सहज हुने बताउनुभयो ।